बिटक्वाइनले अक्टोबर महिनामा सन् २०१८ पछि पहिलो पटक मासिक घाटा बेहोर्न लागेको छ, जसले सात वर्षदेखि चलिरहेको नाफाको क्रम तोडेको छ। यो महिनालाई क्रिप्टोकरेन्सी व्यापारीहरूले भाग्यमानी महिना मान्दै आएका थिए।
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन यो महिनामा करिब ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। पछिल्ला केही हप्तामा बजारमा अनिश्चितता र लगानीकर्ताको जोखिमप्रतिको रुचि घटेपछि यसको मूल्य दबाबमा परेको हो।
“क्रिप्टोकरेन्सीहरू अक्टोबरमा सुन र सेयर बजारसँगै उच्च स्तरमा प्रवेश गरेका थिए, तर जब अनिश्चितता देखापर्यो, मानिसहरूले बिटक्वाइनतर्फ फर्कने मनस्थिति देखाएनन्,” डिजिटल बजार डाटा प्रदायक कैकोका वरिष्ठ अनुसन्धान विश्लेषक एडम म्याककार्थीले भने।
अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा १०० प्रतिशत शुल्क घोषणा गर्दै महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रणको धम्की दिएपछि क्रिप्टो बजारमा इतिहासकै ठूलो विक्रि भएको थियो।
रोयटर्सका अनुसार बिटक्वाइन अक्टोबर १०–११ बीचको अवधिमा १,०४,७८२.८८ डलरसम्म झर्यो, जसको केही दिनअघि मात्र यसले १,२६,००० डलरभन्दा माथिको नयाँ कीर्तिमान बनाएको थियो। “१० तारिखको तीव्र गिरावटले मानिसहरूलाई सम्झायो कि यो सम्पत्ति वर्ग अझै धेरै संकुचित छ,” म्याककार्थीले भने। “यो बिटक्वाइन र इथर मात्र हुन्, र ती पनि १५–२० मिनेटभित्र १० प्रतिशतसम्म घट्न सक्छन्।”
अक्टोबरको अव्यवस्थित बजार परिस्थितिले लगानीकर्ताहरूलाई अलमल्याएको छ। अमेरिकी फेडरल रिजर्भले यस वर्ष ब्याजदर घटाउने बजार अपेक्षालाई अस्वीकार गरेको छ, जबकि सरकारी बन्दका कारण महत्त्वपूर्ण आर्थिक तथ्यांकहरू प्रकाशित हुन नसक्दा नीतिगत स्पष्टता झन् घटेको छ।
यसबीच, केही प्रभावशाली व्यक्तिहरूले सेयर बजारको उच्च मूल्याङ्कनप्रति चिन्ता व्यक्त गरेका छन्। जेपीमर्गन चेइसका प्रमुख कार्यकारी जेमी डाइमोनले यस महिनाको सुरुवातमै आगामी छ महिनादेखि दुई वर्षभित्र अमेरिकी सेयर बजारमा ठूलो सुधार (करेक्शन) आउन सक्ने चेतावनी दिएका थिए।
“रेकर्ड स्तरको यो विक्रिपछि बजारका सहभागिहरू अझै सतर्क छन्। प्रणालीभित्र अझै केही कमजोरी बाँकी हुनसक्ने अड्कलबाजीबीच यो सावधानी कायम छ,” ट्रेडिङ कम्पनी विन्टरम्युटका ओभर-द-काउन्टर डेस्क प्रमुख जेक ओस्ट्रोभ्स्किसले भने।
अक्टोबरमा मूल्य घटे पनि बिटक्वाइन यो वर्ष अहिलेसम्म १६ प्रतिशतभन्दा बढीले बढेको छ। ट्रम्पले डिजिटल सम्पत्तिलाई समर्थन गरेपछि प्रमुख क्रिप्टो प्लेटफर्महरूविरुद्धका केही मुद्दा फिर्ता लिइएका छन् र नियामक निकायहरूले डिजिटल सम्पत्तिलाई समायोजन गर्न विशेष नियमहरू तयार गर्न थालेका छन्।


