Technology Khabar १६ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
नेपालका लागि तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खोलेको आवेदनको वरिष्ठ विधामा सन् २००६ जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।
त्यसैगरी, कनिष्ठ विधामा सन् २०१० जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन्। इच्छुक विद्यार्थीले आगामी पुस २५ गतेसम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गराउनुपर्ने उनले बताए।
कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी माघ ३ गते दिउँसो १२ देखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर, धनगढीमा एकैपटक सञ्चालन गरिनेछ। तीन चरणमा सञ्चालन गरिने उक्त कार्यक्रमको अन्तिम चरणमार्फत प्रत्येक विधामा बढीमा १० विद्यार्थीलाई सन् २०२६ मा आयोजना हुने अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्रदान गरिने सोसाइटीले जनाएको छ।
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो। जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका नेपाली विद्यार्थीले सहभागिताका लागि आवेदन दर्ता गर्न सक्नेछन्। रासस
प्रकाशित: १६ कार्तिक २०८२, आईतवार