डच चिप निर्माता नेक्स्पेरियाले आफ्नो चिनियाँ प्लान्टमा वेफर आपूर्ति बन्द गर्यो

Technology Khabar १५ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

डच चिप निर्माता नेक्स्पेरियाले आफ्ना ग्राहकहरूलाई पठाएको पत्रअनुसार चीनस्थित एसेम्बली प्लान्टमा वेफर आपूर्ति निलम्बन गरेको छ। रोयटर्सले समीक्षा गरेको उक्त पत्रमा यो कदमले विश्वभरका गाडी निर्माता कम्पनीहरूलाई प्रभावित बनाइरहेको आपूर्तिको अभावलाई अझ गम्भीर बनाउन सक्ने उल्लेख छ।

अक्टोबर २९ मितिको र कार्यवाहक प्रमुख कार्यकारी स्टेफन टिल्गरले हस्ताक्षर गरेको पत्रमा नेक्स्पेरियाले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तस्थित डोङगुआन कारखानामा अक्टोबर २६ देखि आपूर्ति रोक्ने निर्णय गरेको उल्लेख छ। पत्रमा भनिएको छ, “यो निर्णय स्थानीय व्यवस्थापनले सम्झौताअनुसारको भुक्तानी सर्त पूरा गर्न असफल भएको प्रत्यक्ष परिणाम हो।”

यो विवाद अक्टोबरको सुरुदेखि तीव्र बनेको हो, जब डच सरकारले सेप्टेम्बर ३० मा नेक्स्पेरियालाई यसको चिनियाँ स्वामी कम्पनी विङटेक टेक्नोलोजीको नियन्त्रणबाट लिएर आफ्नो नियन्त्रणमा ल्यायो र चिनियाँ प्रमुख कार्यकारीलाई पनि पदमुक्त गर्‍यो। सरकारले प्राविधिक जानकारी विङटेकमार्फत चीनमा पुग्ने आशंकालाई कारण देखाएको थियो।

यसपछि नेक्स्पेरियाको चिनियाँ इकाइले स्थानीय ग्राहकहरूलाई पुनः चिप आपूर्ति सुरु गरे पनि सबै कारोबार चिनियाँ मुद्रा (युआन) मा सुल्झाउनु गर्नुपर्ने शर्त राखेको थियो। यसअघि ती कारोबार अमेरिकी डलर जस्ता विदेशी मुद्रामा सुल्झाइन्थे।

रोयटर्सका अनुसार नेक्स्पेरिया मुख्य रूपमा नेदरल्यान्ड्समा ठूला परिमाणमा चिप उत्पादन गर्छ, जसको प्रयोग गाडी उद्योग र उपभोक्ता इलेक्ट्रोनिक्समा व्यापक रूपमा हुन्छ। तीमध्ये करिब ७० प्रतिशत चिप चीनमा प्याकेज गरी प्रायः वितरकहरूलाई बेचिन्छ।

पत्रमा भनिएको छ, “हामीले व्यावसायिक रूपमा सम्भव हुने हदसम्म आपूर्ति कायम राखेका थियौँ, तर हालको आपूर्ति निरन्तरता अब औचित्यपूर्ण छैन । जबसम्म सम्झौताका दायित्वहरू पूरा हुँदैनन्, हामी वेफर आपूर्ति पुनः सुरु गर्न सक्दैनौँ।” कम्पनीले आफ्ना ग्राहकहरूका लागि आपूर्ति निरन्तरता सुनिश्चित गर्न वैकल्पिक उपायहरू विकास गरिरहेको पनि जनाएको छ।

नेक्स्पेरियाले डोङगुआन कारखानाबाट वा चीनको बजारबाट बाहिरिने कुनै योजना नरहेको स्पष्ट गरेको छ र समस्या समाधानमा प्रतिबद्ध रहेको जनाएको छ।

पत्रमा कम्पनीले विङटेकबाट आर्थिक रूपमा स्वतन्त्र रहेको र त्यसबाट पूँजी नउठाउने पनि उल्लेख छ। कम्पनीले पत्र पठाइएको पुष्टि गरे पनि थप टिप्पणी गर्न अस्वीकार गरेको छ। नेक्स्पेरिया चीन र विङटेकले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: १५ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया