बेलायतको भर्जिन मिडिया ओ२ ले इलन मस्कको स्टारलिंकसँग ग्रामीण क्षेत्रमा मोबाइल कभरेज विस्तार गर्न सम्झौता गरेको जनाएको छ। यो सेवा सन् २०२६ को पहिलो छमाहीमा सुरु हुने बताइएको छ, जसअन्तर्गत सुरुवाती चरणमा सन्देश र डाटा सेवा प्रदान गरिनेछ।
टेलेफोनिका र लिबर्टी ग्लोबलको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको भर्जिन मिडिया ओ२ ६५० भन्दा बढी उपग्रहमार्फत ग्राहकका मोबाइल सेटहरू जोड्न स्टारलिंक प्रयोग गर्ने पहिलो ब्रिटिश कम्पनी हुने बताएको छ।
संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशका मोबाइल नेटवर्कहरूले मस्कको कम्पनी स्पेसएक्सअन्तर्गतको स्टारलिंकसँग प्रत्यक्ष मोबाइल सेवाका लागि सम्झौता गरिसकेका छन्।
रोयटर्सका अनुसार अमेरिकी नेटवर्क टी-मोबाइलले गत जुलाईमा सन्देश सेवाबाट सुरुवात गर्दै पछि ह्वाट्सएप जस्ता एपहरूका लागि पनि सेवा विस्तार गरेको थियो।
भर्जिन मिडिया ओ२ को प्रतिस्पर्धी कम्पनी भोडाफोनले यस वर्ष जनवरीमा साझेदार एएसटी स्पेसमोबाइलसँग मिलेर आगामी वर्षदेखि आफ्ना युरोपेली ग्राहकका लागि उपग्रह सेवा सुरु गर्ने योजना घोषणा गरेको थियो।
भर्जिन मिडिया ओ२ का प्रमुख कार्यकारी लुट्ज शुलरले बिहीबार भने, “स्टारलिंक विश्वको अत्याधुनिक उपग्रह नेटवर्क सञ्चालन गर्छ, त्यसैले बेलायतभर भरपर्दो मोबाइल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यका लागि यो उपयुक्त साझेदार हो।”
कम्पनीले हाल पनि केही दुर्गम बेस स्टेशनहरूमा मोबाइल ब्याकहोल सेवा उपलब्ध गराउन स्टारलिंकका उपग्रह प्रयोग गर्दै आएको बताएको छ। सुरुवाती रूपमा सन्देश र डाटा सेवा मात्र मोबाइल सेटहरूमा उपलब्ध गराइनेछ।
कम्पनीले मूल्यसम्बन्धी विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।
