Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
विश्वव्यापी मेमोरी चिपको अभावले स्मार्टफोनको लागत बढ्ने भएको छ। सबैभन्दा ठूलो मेमोरी निर्माताहरू मध्ये एक मानिएको सामसङ सहित धेरै स्मार्टफोन निर्माताहरूले आफ्नो लाइनअपमा मूल्य वृद्धिको योजना बनाइरहेका छन्।
यो समस्या हाई–ब्यान्डविथ मेमोरी (एचबीएम) मा आउने बताइएको छ जुन एआई सर्भरहरूमा प्रयोग हुने उही अल्ट्रा–फास्ट र्याम हो जुन च्याटजीपीटी, जेमिनी र कोपाइलट जस्ता पावर टुल्सहरूमा प्रयोग गरिन्छ। एआई बृद्धिको कारण मागमा पनि बृद्धि भए पनि आपूर्ति बढेको छैन। मेमोरी चिपको मूल्य यस वर्ष ५० प्रतिशत भन्दा बढीले बढेको रिपोर्ट गरिएको छ र यो उपभोक्ता हार्डवेयरमा फैलिन थालेको उल्लेख गरिएको छ।
उदाहरणका लागि सामसङले उच्च चिप लागतहरू अफसेट गर्न आफ्ना आगामी फोन र ट्याब्लेटहरूमा मूल्य बढाउने अपेक्षा गरिएको छ। सामसङले आफ्नै डीआरएम र एनएएनडी बनाए पनि, यो विश्वव्यापी आपूर्ति दबाबबाट मुक्त हुने छैन। रिपोर्टले सही तथ्याङ्कहरू उल्लेख नगरे पनि बृद्धिले धेरैजसो प्रोडक्ट लाइनहरूलाई असर गर्ने रिपोर्ट गरिएको छ।
त्यसैगरी केही ब्रान्डहरूले पहिले नै आफ्नो मूल्य समायोजन गरिरहेको बताइएको छ। शाओमीको नयाँ रेडमी के९० २,५९९ चिनियाँ युआनको सुरुवाती मूल्यमा लन्च गरिएको छ जुन १२जीबी र २५६जीबी कन्फिगरेसनको साथ यसको पूर्ववर्ती भन्दा १०० चिनियाँ युआनले बढि हो।
आगामी मोडेलहरूमा पनि यस्तै मूल्य वृद्धिको अपेक्षा गर्न सकिने बताइएको छ र फ्ल्यागशिपको लागि लगभग ५० देखि १०० अमेरिकी डलरले मूल्य वृद्धि हुने उल्लेख गरिएको छ। साथै यो मेमोरी क्रन्च चाँडै समाप्त नहुने थप उल्लेख गरिएको छ।
अभाव भने सन् २०२७ वा २०२८ सम्म लम्बिन सक्ने र एआई माग सुस्त हुने कुनै संकेत नदेखिएको साममोबाइलले रिपोर्ट गरेको छ। त्यसैले, यदि अपग्रेड गर्ने योजनामा रहेकाहरुले मूल्यहरू बढ्नु अघि नै आफ्नो अर्को ह्यान्डसेट लिनु बुद्धिमानी हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार