Technology Khabar १२ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस) मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ।
मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए।
उनले भने, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ। अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”
त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ। एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए।
“वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो। मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए। यो समस्या भने सोहीदिन समाधान भएको छ”, उनले भने। रासस
प्रकाशित: १२ कार्तिक २०८२, बुधबार