
काठमाडौं ।
इन्स्टाग्रामको मूल कम्पनी मेटासहितका अन्य सामाजिक सञ्जाल कम्पनीहरूले उनीहरू अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तामाथि लगाइने प्रतिबन्धको विरोध गर्ने तर त्यसका बाबजुद पनि कानून लागू भएपछि भने पालना गर्ने बताएका छन्।
मंगलबार संसदमा मेटा, टिकटकको मूल कम्पनी बाइटडान्स र स्न्यापच्याटको मूल कम्पनी स्न्यापले उनीहरू अझै पनि यो प्रतिबन्धले युवाहरूलाई सुरक्षा नदिने विश्वास गर्ने तर डिसेम्बर १० बाट लागू हुने कानूनी व्यवस्थाअनुसार १६ वर्षमुनिका प्रयोगकर्ताका खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताए। यी कम्पनीहरूले उनीहरू छिट्टै एक मिलियनभन्दा बढी १६ वर्षमुनिका खाताका मालिकहरूसँग सम्पर्क गर्ने बताएका छन्।
रोयटर्सका अनुसार विश्वभरका सांसदहरूले युवाहरूको मानसिक स्वास्थ्यप्रति बढ्दो चिन्ताका कारण यो अष्ट्रेलियाली कानूनी कदमलाई ध्यानपूर्वक हेरेका छन्।
नयाँ कानूनअनुसार, सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई रोक्न “उचित कदम” चाल्नुपर्नेछ, अन्यथा ४९.५ मिलियन अष्ट्रेलियन डलरसम्म (करिब ३२.५ मिलियन अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ।
पहिले यी कम्पनीहरूले तर्क गरेका थिए कि यस्तो प्रतिबन्धले युवाहरूलाई इन्टरनेटका कम सुरक्षित क्षेत्रतर्फ धकेल्नेछ र उनीहरूलाई सामाजिक सम्पर्कबाट वञ्चित गराउनेछ। उनीहरूले यो पनि भनेका थिए कि यस्तो प्रणाली लागू गर्न अत्यन्त जटिल हुनेछ। स्न्याप र गुगलकी स्वामित्वमा रहेको युट्युब (GOOGL.O) ले पनि आफूहरू सामाजिक सञ्जाल कम्पनी नभएको दाबी गरेका थिए।
“हामी सहमत छैनौं, तर हामी स्वीकार गर्छौं र कानूनको पालना गर्नेछौं,” स्न्यापकी ग्लोबल नीति उपाध्यक्ष जेनिफर स्टाउटले भिडियो लिंकमार्फत भनिन्।
टिकटककी अष्ट्रेलियाका लागि सार्वजनिक नीति प्रमुख एला वुड्स–जोइसले पनि प्रतिबन्धप्रति असहमति दोहोराउँदै भनिन्, “टिकटक कानूनको पालना गर्नेछ र आफ्नो जिम्मेवारी पूरा गर्नेछ।”
मेटाकी अष्ट्रेलिया र न्युजिल्यान्डका लागि नीति निर्देशक मिया गार्लिकले भनिन् कि कम्पनीले इन्स्टाग्राम र फेसबुकमा रहेका करिब ४.५ लाख १६ वर्षमुनिका खाताधारकहरूलाई छिट्टै जानकारी दिनेछ, जसमा उनीहरूले आफ्ना फोटो र अन्य डेटा मेटाउने वा १६ वर्ष पुग्दासम्म सुरक्षित राख्ने विकल्प पाउनेछन्।
टिकटकका अनुसार अष्ट्रेलियामा करिब २ लाख र स्न्यापका अनुसार करिब ४.४ लाख १६ वर्षमुनिका प्रयोगकर्ता छन्। दुवै कम्पनीले पनि समान कदम चाल्ने बताएका छन्। उनीहरूले भनका छन् कि उमेरबारे गलत जानकारी दिने प्रयोगकर्तालाई पत्ता लगाउन स्वचालित व्यवहार–विश्लेषण सफ्टवेयर प्रयोग गरिनेछ।
“यदि कसैले आफ्नो उमेर २५ वर्ष भन्यो तर उसको व्यवहारले १६ वर्षभन्दा कम देखायो भने, डिसेम्बर १० देखि ती खाता निष्क्रिय गरिनेछ,” वुड्स–जोइसले भनिन्।
गलत रूपमा १६ वर्षमुनि ठानिएका प्रयोगकर्ताका लागि मेटा र टिकटकले तेस्रो पक्षको उमेर–अनुमान उपकरण प्रयोग गर्ने बताएका छन्। स्न्यापले भने यस्तो प्रयोगकर्ताको समस्या समाधानका लागि अझै उपाय खोजिरहेको जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार