फक्सकनले एआई कम्प्युट क्लस्टर र सुपरकम्प्युटिङ सेन्टरमा १.३७ अर्ब डलरसम्म लगानी गर्ने

  • Technology Khabar | ११ कार्तिक २०८२, मंगलवार
फक्सकनले एआई कम्प्युट क्लस्टर र सुपरकम्प्युटिङ सेन्टरमा १.३७ अर्ब डलरसम्म लगानी गर्ने

काठमाडौं ।

ताइवानको फक्सकनले एआई कम्प्युट क्लस्टर र सुपरकम्प्युटिङ सेन्टरमा १.३७ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको छ।

फक्सकनले सोमबार राति प्रकाशित विवरण अनुसार, कम्पनीको सञ्चालक समितिले एआई कम्प्युट क्लस्टर र सुपरकम्प्युटिङ सेन्टरका लागि उपकरण खरिद गर्न ४२ अर्ब ताइवानी डलरसम्म (करिब १.३७ अर्ब अमेरिकी डलर) खर्च गर्न स्वीकृति दिएको छ।

कम्पनीका अनुसार यो लगानी डिसेम्बर २०२५ देखि डिसेम्बर २०२६ बीच आफ्नै स्रोतबाट गरिनेछ। फक्सकनका अनुसार, योजनाको उद्देश्य “क्लाउड कम्प्युट सेवा प्लेटफर्म विस्तार गर्नु र कम्पनीका तीन स्मार्ट प्लेटफर्महरूको विकासलाई तीव्र बनाउनु” हो। कम्पनीले लगानी कहाँ हुने हो भन्ने खुलाएको छैन।

मामिलासँग परिचित एक व्यक्ति अनुसार लगानी ताइवानमै हुनेछ। फक्सकनले यसबारे थप टिप्पणी नदिएको रोयटर्सले उल्लेख गरेको छ।

होन हाई प्रिसिजन इन्डस्ट्री कम्पनी लिमिटेड नामले पनि चिनिने विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ठेक्का निर्माता फक्सकनलाई  पछिल्ला वर्षहरूमा स्मार्टफोन र परम्परागत इलेक्ट्रोनिक्स निर्माणबाहेक कृत्रिम बुद्धिमत्ता र क्लाउड पूर्वाधारमा लगानी बढाइरहेको छ।

गत मे महिनामा कम्पनीले एनभिडियासँग मिलेर ताइवानमा १०० मेगावाट क्षमताको कृत्रिम बुद्धिमत्ता केन्द्र बनाउने घोषणा गरेको थियो।

अगस्ट महिनामा कम्पनीले जापानको सफ्टबैंकसँग मिलेर अमेरिकाको ओहायोस्थित आफ्नो पूर्व इलेक्ट्रिक सवारीसाधन कारखानामा डेटा सेन्टर उपकरण उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो, जसलाई अमेरिकाको कृत्रिम बुद्धिमत्ता पूर्वाधार विस्तारका लागि “स्टारगेट परियोजना” भनिएको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...