Technology Khabar ११ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
तीन महिनाको अवधिमा सल्यानमा करिब सात सय जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। साउन, भदौ र असोजमा प्रशासन कार्यालयबाट ६९४ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो।
गत साउनमा २२१ भदौमा १९४ र असोजमा २७९ गरी कुल ६९४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार यो अवधिमा चार हजार ५१४ जनालाई राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेर स्लिप प्रदान गरिएको छ।
राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि तथा बैङ्क प्रयोजनका लागि समेत आवश्यक पर्छ। जिल्ला प्रशासन कार्यालयसँगै जिल्लाको कुमाख गाउँपालिकाबाट समेत परिचयपत्र वितरण गरिएको थियो।
अब यो कार्य बनगाड कुपिण्डे नगरपालिकामा पनि सुरु गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। राष्ट्रिय परिचयपत्र आवेदनसँग सम्बन्धित सामान्य त्रुटि कार्यालयबाटै सच्याउने गरी तालिमप्राप्त कर्मचारीबाट कार्यारम्भ भइसकेको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले तीन महिनाको अवधिमा एक हजार ३५२ नयाँ नागरिकता प्रमाणपत्र जारी गरेको छ भने दुई हजार २३५ नागरिकताको प्रतिलिपि वितरण गरिएको कार्यालयले जनाएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार