वैज्ञानिकहरूले बनाए अत्याधुनिक र “नरम” रोबोटिक आँखा: बाह्य ऊर्जा स्रोत बिना नै स्वचालित रूपमा फोकस गर्न सक्ने

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

वैज्ञानिकहरूले यस्तो अत्याधुनिक र “नरम” रोबोटिक आँखाको विकास गरेका छन्, जसले बाह्य ऊर्जा स्रोत बिना नै स्वचालित रूपमा फोकस गर्न सक्छ।

यो शक्तिशाली लेन्स यति संवेदनशील छ कि यसले च्याउको रौँजस्तो स–साना वस्तु वा परागकणका सूक्ष्म भागहरू समेत छुट्याउन सक्छ।

यो नयाँ प्रविधिले भविष्यमा ब्याट्री वा इलेक्ट्रोनिक भागहरूबिनै काम गर्ने “सफ्ट रोबोटहरू” लाई सक्षम दृष्टि प्रदान गर्न सक्नेछ। यस्तो प्रकारका रोबोटहरू शरीरसँग एकीकृत हुने वेयरएबल प्रविधि, असमान भूभागमा स्वतन्त्र रूपमा चल्ने उपकरण, वा जोखिमपूर्ण स्थानमा काम गर्ने स्वायत्त प्रणालीहरूमा प्रयोग गर्न सकिन्छ, अध्ययनका प्रमुख लेखक तथा जर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजीका बायोमेडिकल इन्जिनियरिङका डक्टरल विद्यार्थी कोरी झेङले बताएको लाइभसाइन्सले उल्लेख गरेको छ।

झेङका अनुसार, “परम्परागत रोबोटहरूमा कठोर सेन्सर र विद्युतिय सर्किट प्रयोग गरिन्छ, तर जब तपाईं ‘सफ्ट’ र लचिलो रोबोटको कुरा गर्नुहुन्छ, जसले विद्युत प्रयोग नगर्न सक्छ, तब त्यसले कसरी ‘महसुस’ गर्ने भन्ने प्रश्न उठ्छ।”

यो कृत्रिम आँखाको लेन्स हाइड्रोजेल बाट बनेको हो। हाइड्रोजेलमा पानी अड्याउने र छोड्ने क्षमता हुन्छ, जसले यसलाई तरलजस्तो वा ठोसजस्तो अवस्थामा रूपान्तरण हुन सक्षम बनाउँछ। यस अध्ययनमा, हाइड्रोजेलले तातोमा पानी छोडेर संकुचित हुने र चिसोमा पानी सोस्दै फुल्ने विशेषता देखाएको छ।

वैज्ञानिकहरूले सिलिकन पोलिमरको लेन्स वरिपरि हाइड्रोजेलको घेरो बनाएर यो आँखाको संरचना तयार पारेका छन्, जसको यांत्रिक ढाँचा मानव आँखासँग मिल्दोजुल्दो छ।

हाइड्रोजेलमा ग्राफिन अक्साइड का स–साना कणहरू मिसाइएका छन्, जसले प्रकाश सोस्ने क्षमता राख्छन्। जब सूर्यजस्तो तीव्र प्रकाश यसमा पर्छ, ग्राफिन अक्साइड तातिन्छ र हाइड्रोजेललाई तताउँछ, जसले संकुचन भएर लेन्सलाई तान्दै फोकस गर्छ। प्रकाश हटेपछि हाइड्रोजेल फुलिन्छ र लेन्समा परेको तनाव हटाउँछ। यो प्रणालीले दृश्यमान प्रकाशको सम्पूर्ण स्पेक्ट्रममा प्रतिक्रिया दिन सक्छ।

अक्टोबर २२ मा साइन्स रोबोटिक्स पत्रिकामा प्रकाशित अध्ययनअनुसार, यो लेन्स परम्परागत प्रकाश सूक्ष्मदर्शक यन्त्रमा प्रयोग हुनेका काँचका लेन्सको सट्टा प्रयोग गर्न सकिन्छ।

यसले टिकको नङबीचको ४ माइक्रोमिटर दूरी, फंगसका ५ माइक्रोमिटर लामो धागो, र चीँटीको खुट्टामा भएको ९ माइक्रोमिटर रौँ पनि स्पष्ट रूपमा देखाउन सक्षम भएको छ।

अध्ययन टोली अहिले यो लेन्सलाई त्यही हाइड्रोजेलबाट बनेको माइक्रोफ्लुइडिक प्रणालीमा एकीकृत गर्दैछ। यसको अर्थ, छविमा प्रयोग हुने प्रकाश नै उक्त प्रणाली चलाउने उर्जा स्रोत बन्न सक्छ।

झेङका अनुसार, “हाइड्रोजेल अनुकूलनशील भएकोले, भविष्यमा यो लेन्सले मानव आँखाले नदेख्ने चीजहरू पनि देख्न सक्ने सम्भावना छ।” उदाहरणका लागि, यसले बिरालोको आँखाझैँ छद्मवेशी वस्तुहरू पत्ता लगाउन वा कट्लफिसको ‘डब्लू’-आकारको रेटिनाको जस्तो रंग पहिचान क्षमता प्राप्त गर्न सक्छ।

“हामी यो लेन्सलाई निकै अनौठा र नयाँ तरिकाले नियन्त्रण गर्न सक्छौं,” झेङले भने।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया