Technology Khabar १० कार्तिक २०८२, सोमबार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार टिकटक सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। यसबारे अमेरिकी अर्थसचिव स्कट बेसन्टले बताएका हुन्।
बेसन्टका अनुसार अमेरिका र चीन टिकटक सम्बन्धी सम्झौता अघि बढाउन तयार भएका छन्। उनले गत महिनामा म्याड्रिडमा भएका छलफलका क्रममा दुई देशबीच सम्झौताका लागि “ढाँचा” तयार भएको बताएका थिए। त्यसपछि राष्ट्रपति ट्रम्पले उक्त सम्झौता कार्यान्वयन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
आइतबार बिहान सीबीएसको फेस द नेशन कार्यक्रममा बोल्दै बेसन्टले भने, “हामीले टिकटक सम्बन्धी अन्तिम सम्झौता गरेका छौँ। म्याड्रिडमा हामीले प्रारम्भिक सहमति गरेका थियौँ, र आजसम्ममा सबै विवरण मिलाइसकिएको छ। अब उक्त सम्झौता बिहीबार कोरियामा दुई नेताले सम्पन्न गर्नेछन्।”
टेकक्रञ्चका अनुसार उनीले सम्झौताका विस्तृत विवरण खुलाउन अस्वीकार गरे, तर थपे, “मेरो जिम्मेवारी चिनियाँ पक्षलाई सम्झौतामा सहमत गराउनु थियो, र हामीले गत दुई दिनमा त्यसमा सफलतापूर्वक प्रगति गरेका छौँ।”
ट्रम्पले बारम्बार त्यस्तो कानूनी समयसीमा विस्तार गर्दै आएका छन्, जसअनुसार टिकटकको मूल कम्पनी बाइटडान्सले एप बिक्री नगरे प्रतिबन्धको सामना गर्नुपर्नेछ।
कार्यकारी आदेशअनुसार, टिकटकको अमेरिकी सञ्चालन — जसमा सिफारिस एल्गोरिदम, स्रोत कोड र सामग्री व्यवस्थापन समावेश छन् — नयाँ सञ्चालक समितिको नियन्त्रणमा आउनेछ। सुरक्षा व्यवस्थापनको जिम्मा ओरेकलले लिनेछ।
ट्रम्पका निकट सहयोगी लेरी एलिसन नेतृत्वको ओरेकलसँगै फक्स कर्प (फक्स न्युजकी मालिक), एन्ड्रिसन होरोविट्ज र सिल्भर लेक म्यानेजमेन्ट नयाँ संयुक्त लगानीकर्ताको रूपमा सहभागी हुने बताइएको छ। फक्सको सहभागिता ट्रम्पले पनि पुष्टि गरेका छन्।
बेसन्टले यी टिप्पणी मलेसियाको क्वालालम्पुरबाट गरेका हुन्, जहाँ अमेरिकी र चिनियाँ व्यापार वार्ताकारहरूले शुल्क र अन्य व्यापारिक विषयमा पनि प्रारम्भिक सहमति भएको बताएका छन्।
अमेरिकी व्यापार वार्ताकार जेमिसन ग्रियरका अनुसार, छलफलमा दुर्लभ खनिज सम्बन्धी विषय पनि समावेश थियो, यद्यपि उनले विवरण खुलाएका छैनन्। चीनले ती खनिजहरूको निर्यात नियन्त्रण कडा गर्ने बताएको छ, जसको प्रयोग सेमीकन्डक्टर र अन्य प्रविधि उत्पादनमा हुन्छ।
ग्रियरले भने, “हामीले व्यापारिक युद्धविराम विस्तारबारे कुरा गर्यौं, दुर्लभ खनिजबारे पनि छलफल गर्यौं, र विभिन्न विषयमा विचारविमर्श गर्यौं।”
प्रकाशित: १० कार्तिक २०८२, सोमबार