Technology Khabar ९ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
जापानले आफ्नो नयाँ एचटीभी–एक्स कार्गो अन्तरिक्ष यानलाई पहिलो पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ पठाएको छ।
यो रोबोटिक अन्तरिक्ष यान शनिबार राति अमेरिकी समयअनुसार ८ बजे (अर्थात् आइतबार बिहान ९ बजे जापान समय) जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–थ्री रकेटमार्फत प्रक्षेपण गरिएको हो।
स्पेस डटकमका अनुसार एचटीभी–एक्स बुधबार (अक्टोबर २९) बिहान ११:५० बजे ईडीटी (१५:५० जीएमटी) तिर अन्तरिक्ष स्टेशनमा पुग्ने अपेक्षा गरिएको छ।
यो यान जापानको अघिल्लो एच–टु ट्रान्सफर भेहिकल (एचटीभी) अर्थात् “कोउनोतोरी” (जापानीमा “सेतो बकुला”) को उत्तराधिकारी हो, जसले सन् २००९ देखि २०२० सम्म नौ वटा आईएसएस आपूर्तिमिशन पूरा गरेको थियो।
८ मिटर लामो नयाँ एचटीभी–एक्स करिब १.२ मिटर छोटो भए पनि यसले ६,००० किलोग्राम (झन्डै १३,२०० पाउन्ड) तौलको मालसामान पृथ्वीको निम्न कक्षामा पठाउन सक्छ। यसमा थप सुधार पनि गरिएको छ।
मित्सुबिसी हेवी इन्डस्ट्रीजका अनुसार, “एचटीभी–एक्सले ढुवानी क्षमतामा वृद्धि गर्नुका साथै आईएसएस छोडेपछि १.५ वर्षसम्म कक्षामा विभिन्न प्रयोगकर्ताका लागि प्रविधि परीक्षणका अवसर पनि उपलब्ध गराउन सक्छ।”
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भनेको छ कि यो नयाँ यान भविष्यमा आईएसएस पछि हुने मानव अन्तरिक्ष गतिविधिहरूका लागि पनि उपयोगी हुन सक्छ, साथै नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमाको वरिपरि निर्माण हुन सक्ने ‘गेटवे’ स्टेशनमा पनि कार्गो पुर्याउन प्रयोग गर्न सकिने सम्भावना छ।
यस मिसनसँगै आईएसएस मा कार्गो पुर्याउने सक्रिय यानहरूको सङ्ख्या एकतिहाइले बढेको छ। हाल रूसको प्रोग्रेस, अमेरिकाको नर्थरोप ग्रुमनको सिग्नस र स्पेसएक्सको ड्रागन यान सञ्चालनमा छन्। तीमध्ये ड्रागन मात्रै पुनः प्रयोग गर्न मिल्ने यान हो, बाँकी (एचटीभी–एक्स सहित) मिशन पूरा भएपछि पृथ्वीको वायुमण्डलमा जलेर नष्ट हुने गरी डिजाइन गरिएका छन्।
प्रकाशित: ९ कार्तिक २०८२, आईतवार