Technology Khabar ९ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
फरारीले क्रिप्टो बजार र प्रविधिप्रेमी युवा वर्गलाई लक्षित गर्दै नयाँ डिजिटल टोकन ल्याउने तयारी गरेको छ। यो टोकन कम्पनीका सम्पन्न प्रशंसकहरूले लगातार तीन पटक मान्स जितेको सहनशीलता कार “फरारी ४९९पी” का लागि हुने विशेष लिलामीमा प्रयोग गर्न सक्नेछन्।
हाल यो योजना सीमित दायरामा रहेको र लग्जरी ब्रान्डहरूले प्रविधि र एआई क्षेत्रका युवा उद्यमीहरूको बढ्दो सम्पत्तिसँग जोडिन खोज्ने हालको प्रवृत्तिलाई समात्ने प्रयास भएको फरारीले जनाएको छ। सन् २०२३ मा कम्पनीले संयुक्त राज्यमा बिटक्वाइन, इथेरियम र यूएसडीसीमार्फत कार खरिद गर्ने सुविधा सुरु गरेको थियो र गत वर्ष यो सेवा युरोपसम्म विस्तार गरेको थियो।
फेरारीले इटालियन फिनटेक कम्पनी कोनियोसँग मिलेर ‘टोकन फरारी ४९९पी’ सार्वजनिक गर्ने तयारी गरेको छ, जसलाई कम्पनीको “हाइपरक्लब” का सदस्यहरूले आपसमा कारोबार गर्न र रेसिङ मोडेलका लागि लिलामीमा सहभागी हुन प्रयोग गर्न सक्नेछन्। यो क्लबमा एण्ड्युरेन्स रेसप्रेमी १०० जना विशेष ग्राहकहरू समावेश छन्।
यो टोकन सन् २०२७ को वर्ल्ड इन्ड्युरेन्स च्याम्पियनसिप सिजन सुरुसँगै डेब्यू गर्ने तयारीमा छ।
“यो हाम्रो सबैभन्दा निष्ठावान ग्राहकहरूबीच सम्बन्ध र अपनत्वको भावना बलियो बनाउनको लागि गरिएको कदम हो,” फेरारीका मार्केटिङ र व्यावसायिक प्रमुख एनरिको गालिएराले रोयटर्ससँग भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता प्रमुख समर्थकहरूको कारण क्रिप्टो बजार हाल बढ्दो अवस्थामा छ, तर नियामकहरूले कमजोर नियमन र अत्यधिक अटकलबाजीका कारण लगानीकर्ता र वित्तीय स्थायित्वमा जोखिम बढेको चेतावनी दिएका छन्। बिटक्वाइनको मूल्य गत वर्षको तुलनामा ६० प्रतिशतले बढेको छ।
फेरारीको टोकन तत्काल बजारमा नआउने भएको छ। कोनियोले युरोपियन युनियनको नयाँ क्रिप्टो नियमनअन्तर्गत इजाजतपत्रका लागि आवेदन दिइरहेको छ। “विकासको सम्भावना अपार छ,” कोनियाका मुख्य फिनटेक रणनीतिकार र परियोजना संयोजक डाभिडे रालोले भने।
प्रकाशित: ९ कार्तिक २०८२, आईतवार