ओपनएआईले म्याकका लागि अधिग्रहण गर्यो स्काइ एआई इन्टरफेसको मूल कम्पनी

Technology Khabar ९ कार्तिक २०८२, आईतवार

काठमाडौं ।

ओपनएआईले बिहीबार म्याक कम्प्युटरका लागि ‘स्काइ’ नामक एआई–सञ्चालित नेचुरल ल्याङ्ग्वेज इन्टरफेस बनाउने कम्पनी सफ्टवेयर एप्लिकेसन्स, इन्क. अधिग्रहण गरेको घोषणा गरेको छ।

सार्वजनिक रूपमा अझै रिलिज नभएको यो सफ्टवेयर प्रयोगकर्ताको दैनिकीमा साथ दिनका लागि डिजाइन गरिएको हो। लेखन, योजना बनाउने, कोडिङ्गजस्ता कामका क्रममा कम्प्युटरका विभिन्न एप्ससँग मिलेर काम गर्न यो सहायक बन्नेछ।

एआई ब्राउजरहरूझैं स्काइले प्रयोगकर्ताको स्क्रिनमा देखिएको कुरा बुझ्न र एपहरूमा कार्य गर्न सक्छ। यो कदम ओपनएआईको प्रविधिलाई उपभोक्ताको दैनिक जीवन र म्याकमा चल्ने व्यवसायहरूमा समाहित गराउने दिशामा महत्वपूर्ण मानिएको छ।

“हामी सधैं कम्प्युटरलाई अझ सशक्त, अनुकूलन योग्य र सहज बनाउन चाहन्थ्यौं। एलएलएमहरूको प्रयोगले अब हामी ती टुक्रा जोड्न सक्ने भएका छौं। त्यसैले हामीले स्काइ निर्माण गर्‍यौं, एउटा एआई अनुभव जसले तपाईंको डेस्कटपमा तैरिँदै तपाईंलाई सोच्न र सिर्जना गर्न मद्दत गर्छ। यो दृष्टि सयौं मिलियन मानिससम्म पुर्‍याउन पाउँदा हामी उत्साहित छौं,” सफ्टवेयर एप्लिकेसन्सका सह-संस्थापक तथा सीईओ एरी वाइंस्टिनले एक विज्ञप्तिमा भनेका छन्।

स्काइ बनाउने टोली यसअघि पनि एक चर्चित परियोजनासँग जोडिएको थियो।

वाइंस्टिन र कोनराड क्रेमरले यसअघि वर्कफ्लो नामक एप सह–स्थापना गरेका थिए, जसलाई पछि एप्पलले किनेर हाल ‘सर्टकट्स’ नाममा प्रयोगमा ल्याएको हो। उनीहरूले एप्पलमा केही वर्ष काम गरेपछि अगस्ट २०२३ मा सफ्टवेयर एप्लिकेसन्स स्थापना गरेका थिए।

स्काइकी तेस्रो सह–संस्थापक र सीओओ किम बेभेरेट एप्पलकी वरिष्ठ प्रोग्राम र उत्पादन प्रबन्धक थिइन्, जहाँ उनले करिब १० वर्ष सफारी, वेबकिट, प्राइभेसी, मेसेजेस, मेल, फोन, फेसटाइम र सेयरप्ले जस्ता परियोजनामा काम गरेकी थिइन्।

टेकक्रञ्चका अनुसार एप्पलले हालसम्म एआई क्षेत्रमा ढिलो प्रगति गरेको मानिन्छ, तर कम्पनीले आगामी वर्ष एआई क्षमतासहितको नयाँ सिरि ल्याउने तयारी गरेको छ। एप्पलले पहिले नै ‘एप्पल इण्टेलिजेन्स’ नामक प्रविधिबाट लेखन सहायता, लाइभ अनुवाद, चित्र सिर्जना, दृश्य खोजी लगायतका सुविधाहरू उपलब्ध गराइसकेको छ। साथै, सिरिले नबुझ्ने प्रश्नहरू च्याटजीपीटीमा पठाउने गरी ओपनएआईसँग सहकार्य भइरहेको छ।

एप्पल इण्टेलिजेन्स म्याकसहित सबै प्लेटफर्ममा काम गर्छ, र डेभलपरहरूले आफ्ना एपमा स्थानीय एआई मोडेल जोड्न पाउने ‘फाउन्डेशन मोडेल्स’ फ्रेमवर्क पनि उपलब्ध छ।

तर एप्पलले गोपनीयतालाई आफ्नो एआई सेवाको मुख्य अङ्ग मानेको छ, र प्रयोगकर्ताको स्क्रिन हेरेर स्वचालित रूपमा कार्य गर्ने प्रणालीले सुरक्षाबारे चिन्ता बढाउन सक्छ। एजेन्टिक एआई अझै सुरुवाती चरणमै रहेको र हालका समीक्षाहरूले यसमा सुरक्षा जोखिमहरू रहेको देखाएका छन्। त्यसैले एप्पलले स्काइ जस्तै म्याक एआई प्रणाली ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ।

ओपनएआईले उक्त सम्झौताका आर्थिक विवरण सार्वजनिक गरेको छैन। तर पिचबुकका अनुसार, स्काइ बनाउने कम्पनीले ६.५ मिलियन डलर उठाएको थियो, जसमा ओपनएआईका सीईओ साम अल्टम्यान, फिग्माका सीईओ डिलन फील्ड, कन्टेक्स्ट भेन्चर्स र स्टेलेसन क्यापिटललगायत लगानीकर्ता थिए। ओपनएआईले आल्टम्यानको लगानी उक्त स्टार्टअपमा अप्रत्यक्ष रूपमा एउटा लगानी कोषमार्फत गरिएको भएको स्पष्ट पारेको छ।

प्रकाशित: ९ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया