मेटाले एआई–सञ्चालित फोटो र भिडियो सम्पादन उपकरणहरू अब सिधै इन्स्टाग्राम स्टोरीजमा उपलब्ध गराउने भएको छ। यस सुविधाले प्रयोगकर्तालाई टेक्स्ट प्रम्प्ट टाइप गरेर फोटो वा भिडियोमा वस्तुहरू थप्न, हटाउन वा पूरै परिवर्तन गर्न सक्ने बनाउँछ।
पहिले मेटाले इन्स्टाग्राममा केही फोटो सम्पादन सुविधा उपलब्ध गराइसकेको थियो, तर ती मेटा एआई च्याटबोटमार्फत सीमित रूपमा मात्र प्रयोग गर्न सकिन्थे। अब स्टोरीजमा टेक्स्ट–आधारित प्रम्प्ट जोडिएपछि यी सुविधाहरू सबै प्रयोगकर्ताका लागि सजिलो बनेका छन्।
टेकक्रञ्चका अनुसार नयाँ सुविधाहरू “रिस्टाइल” मेनुमा पाइन्छन्, जुन इन्स्टाग्राम स्टोरीजमा पेन्टब्रस आइकन ट्याप गर्दा माथि देखा पर्छ। तस्वीर सम्पादन गर्न प्रयोगकर्ताले “एड,” “रिमुभ,” वा “चेञ्ज” विकल्प रोजेर प्रम्प्ट बारमा आफूले परिवर्तन गर्न चाहेको कुरा टाइप गर्न सक्छ।
उदाहरणका लागि, मेटाका अनुसार प्रयोगकर्ताले आफ्नो कपालको रङ परिवर्तन गर्न, टाउकोमा क्राउन थप्न, वा ब्याकग्राउन्डमा सूर्यास्त राख्न अनुरोध गर्न सक्छ। साथै, पहिरन परिवर्तन गर्ने वा छविको शैली रूपान्तरण गर्ने विभिन्न प्रिसेट प्रभावहरू पनि छन् — जस्तै सनग्लासेस वा बाइकर्स ज्याकेट थप्ने वा तस्वीरमा वाटरकलर प्रभाव दिन सकिन्छ। भिडियोका लागि, हिउँ परिरहेको जस्तो देखिने वा आगोको प्रभाव थप्ने विकल्प पनि उपलब्ध छन्।
ध्यान दिनुपर्ने कुरा के हो भने इन्स्टाग्राममा मेटा एआई प्रयोग गर्दा प्रयोगकर्ताले मेटाको एआई सेवा सर्तहरू स्वीकृत गर्नुपर्छ, जसअन्तर्गत मेटाले प्रयोगकर्ताको मिडिया र अनुहारका विशेषताहरू विश्लेषण गर्न सक्छ।
ती सर्तअनुसार, प्रयोगकर्ताले अपलोड गरेका तस्वीरहरूबाट मेटा “ फोटोको सामग्रीको सारांश निकाल्न, फोटोहरू परिमार्जन गर्न र तिनकै आधारमा नयाँ सामग्री सिर्जना गर्न” सक्छ।
मेटाले बजारमा प्रतिस्पर्धी रहन निरन्तर नयाँ एआई अपडेटहरू ल्याइरहेको छ। हालै कम्पनीले इन्स्टाग्राममा प्रयोगकर्तालाई पोस्टका लागि रमाइला कमेन्ट सोच्न मद्दत गर्ने “राइट विथ मेटा एआई” प्रम्प्ट परीक्षण गरिरहेको देखिएको छ।
गत महिनामा मेटाले आफ्नो एआई एपमा “भाइब्स” नामक नयाँ एआई–निर्मित भिडियो फिड सार्वजनिक गरेको थियो, जसले एपका डाउनलोड बढाएको अनुमान छ। सिमिलरवेबको ताजा तथ्याङ्कअनुसार अक्टोबर १७ सम्ममा उक्त एपका दैनिक सक्रिय प्रयोगकर्ता आईओएस र एण्ड्रोइडदुवैमा ७.७५ लाखबाट बढेर २.७ मिलियन पुगेका छन्।
यसबाहेक, अभिभावकहरूको चिन्ता सम्बोधन गर्न मेटाले यसै महिनाको सुरुमा नयाँ पैरेन्टल कन्ट्रोल सुविधा ल्याएको छ, जसले अभिभावकलाई एआई पात्रहरूसँगको च्याट निष्क्रिय गर्न र किशोरहरूले मेटा एआई च्याटबोटसँग गरेका कुराकानीको विषयवस्तु नियाल्न अनुमति दिन्छ।