अस्ट्रेलियाको दुर्गम क्षेत्रमा भेटिएको जल्दै गरेको वस्तु चीनको गोप्य रकेटको अवशेष हुन सक्ने आशङ्का

Technology Khabar ७ कार्तिक २०८२, शुक्रबार

अस्ट्रेलियाको दुर्गम क्षेत्रमा भेटिएको जल्दै गरेको वस्तु चीनको गोप्य रकेटको अवशेष हुन सक्ने आशङ्का
फोटो: लाइभसाइन्स

काठमाडौं ।

अस्ट्रेलियाको दुर्गम आउटब्याक क्षेत्रमा हालै कालो र जलिरहेको ठूलो टुक्रा भेटिएको छ। यो टुक्रा चीनको गोप्य रकेटको भाग हुन सक्ने विज्ञहरूले बताएका छन्। यो जलेको अवशेष पृथ्वीको वायुमण्डलमा पुनः प्रवेशका क्रममा पूर्ण रूपमा नजलेर झरेको अनुमान गरिएको छ।

स्थानीय खानी मजदुरहरूले अक्टोबर १८ (शनिबार) दिउँसो करिब २ बजे पश्चिमी अस्ट्रेलियाको पिलबारा क्षेत्रमा पर्ने न्युम्यान सहरबाट करिब ३० किलोमिटर टाढा धुवाँ उडिरहेको वस्तु फेला पारेका थिए, जसको आकार करिब ५ फिट (१.५ मिटर) चौडा थियो। एबीसी न्युजका अनुसार यो घटनाबारे पहिलो रिपोर्ट त्यहीँबाट आएको हो।

स्थानीय प्रहरीले उक्त वस्तु विमानबाट खसेको होइन भनेर पुष्टि गरेपछि यसलाई सम्भावित अन्तरिक्ष फोहोरीको रूपमा पहिचान गरेको थियो। त्यसपछि अस्ट्रेलियन स्पेस एजेन्सीलाई थप परीक्षणका लागि बोलाइयो, तर उनीहरू तत्कालै वस्तुको पहिचान गर्न सफल भएनन्।

नेदरल्यान्ड्सको डेल्फ्ट टेक्निकल युनिभर्सिटीका एयरोस्पेस इन्जिनियरिङ विश्लेषक मार्को लाङब्रुक, जसले कक्षामा रहेका यानहरूको मार्ग ट्र्याक गर्छन्, पहिलो व्यक्ति थिए जसले यो टुक्रा चीनको जिएलङ–३ रकेटको माथिल्लो चरणको अवशेष भएको सम्भावना बताए। उक्त रकेट यो अवशेष फेला पर्नुअघि नै कक्षाबाट झरेको थियो स्पेस डट कमले जनाएको छ।

यो अनुमानलाई पछि अन्य विशेषज्ञहरूले पनि समर्थन गरेका छन्, जसमा हार्भर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलशास्त्री जोनाथन म्याकडोवेल पनि समावेश छन्। उनले पछिल्ला ३५ वर्षदेखि अन्तरिक्ष फोहोरी पुनःप्रवेश घटनाहरू ट्र्याक गर्दै आएका छन्। हाल यो रकेट कहिले प्रक्षेपण गरिएको थियो भन्ने कुरा स्पष्ट भएको छैन।

विशेषज्ञहरूका अनुसार ३१ मिटर (१०२ फिट) अग्लो उक्त रकेटको कुन भाग न्युम्यान नजिक फेला परेको हो भन्नेबारे अझै निश्चित छैन, किनभने अवशेष अत्यधिक क्षतिग्रस्त छ र चीनको गोप्य अन्तरिक्ष कार्यक्रमका कारण त्यसको डिजाइनसम्बन्धी विवरण उपलब्ध छैन।

तर स्पेस डट कमका अनुसार यो वस्तु प्रायः कार्बन फाइबरबाट बनेको देखिन्छ। त्यसैले दुई सम्भावना छन् — यो या त उच्च दबाबमा ग्यास वा तरल पदार्थ राख्न प्रयोग गरिने कम्पोजिट ओभरर्याप्ड प्रेसर भेसल (सीओपीभी) हुन सक्छ, या त पूरै माथिल्लो चरण नै क्षतिग्रस्त भएर खसेको हुन सक्छ।

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया