एक्सआर स्मार्ट ग्लास उत्पादनका लागि वारबाई पार्कर  र जेन्टल मन्स्टरसँग सहकार्य गर्दै सामसङ

Technology Khabar ७ कार्तिक २०८२, शुक्रबार

एक्सआर स्मार्ट ग्लास उत्पादनका लागि वारबाई पार्कर  र जेन्टल मन्स्टरसँग सहकार्य गर्दै सामसङ
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

ग्यालेक्सी एक्सआर हेडसेटको प्रस्तुतीकरणको क्रममा सामसङले अर्को नयाँ वेयरेबल उपकरणको पनि झलक देखाएको छ। कम्पनीले दुई चश्मा निर्माता कम्पनीहरू वारबाई पार्कर  र जेन्टल मन्स्टरसँग सहकार्य गर्दै मेटाको रे–ब्यान मोडेलसँग प्रतिस्पर्धा गर्ने एआई–सञ्चालित स्मार्ट चश्मा विकास गरिरहेको सामसङका कस्टमर एक्सपीरियन्स प्रमुख जे किमले लाइभस्ट्रिमको अन्त्यमा घोषणा गरे।

किमले भने, “हामी अहिले गुगलसँग मिलेर तयार गर्दै गरेका एआई चश्माबारे निकै उत्साहित छौँ। हामी वारबाई पार्कर  र जेन्टल मन्स्टरजस्ता दृष्टिकोणमा अग्ला दुई ब्रान्डसँग सहकार्य गर्दै छौँ, जसले प्रयोगकर्ताको जीवनशैलीमा सहज रूपमा फिट हुने नयाँ उपकरणहरू ल्याउनेछ।”

सामसङ ती दुई ब्रान्डमार्फत फरक बजारलाई लक्ष्य गर्ने तयारीमा छ। दुबै मोडेलमा गुगलसँग सहविकसित “उन्नत” एआई सुविधा रहनेछन्। जेन्टल मन्स्टरसँगको सहकार्यमार्फत कम्पनीले उच्च–स्तरको बजारका लागि “फेशन–केन्द्रित” चश्मा विकास गर्दैछ भने वारबाई पार्कर  र जेन्टल मन्स्टरसँगको सहकार्यले सामान्य उपभोक्ताका लागि तुलनात्मक रूपमा सस्तो मोडेल ल्याउनेछ।

इन्ग्याजेटका अनुसार सामसङले यी एआई चश्माले एन्ड्रॉइडको एक्सआर इकोसिस्टममार्फत दैनिक जीवनमा “स्टाइल, सहजता र व्यवहारिकता” ल्याउने बताएङ्को छ। मे महिनामा गुगलले देखाएको प्रोटोटाइप एक्सआर स्मार्ट चश्माजस्तै, सामसङको चश्मामा पनि जेमिनी–द्वारा सञ्चालित डिस्प्ले रहने सम्भावना छ, जसले प्रयोगकर्ताका एपहरूबाट सूचना र सानो विवरणहरू जस्तै सुन्दै गरेको संगीत वा जीपीएस निर्देशनहरू देखाउनेछ। यसमा अन्तर्निर्मित क्यामेरा, स्पिकर र माइक्रोफोन पनि हुने अपेक्षा गरिएको छ।

डिजाइन र रूपरङ यी उपकरणका मुख्य पक्ष हुनेछन्। तर सामसङले अझै आफ्नो आगामी स्मार्ट चश्माका तस्बिरहरू सार्वजनिक गरेको छैन र रिलिज मितिबारे पनि केही जानकारी दिएको छैन।

यद्यपि, मेटाको रे–ब्यान ब्रान्डेड एक्सआर मोडेलहरू पहिले नै बजारमा उपलब्ध भएकाले सामसङका लागि प्रतिस्पर्धा कठिन हुने अनुमान गरिएको छ। गत साता मेटाले रे-ब्यान डिसप्ले मोडेल प्रस्तुत गरेको थियो, जसमा वास्तविक विस्तारित–रियालिटी अनुभवका लागि स्क्रीन पनि समावेश गरिएको छ।

 

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया