२०२७ सम्म साढे १२ अर्ब डलर जोगाउने गरी अटोमेशनमार्फत् ५ लाख कर्मचारी कटौती गर्दै अमेजन

  • Technology Khabar | ६ कार्तिक २०८२, बिहीबार
२०२७ सम्म साढे १२ अर्ब डलर जोगाउने गरी अटोमेशनमार्फत् ५ लाख कर्मचारी कटौती गर्दै अमेजन

काठमाडौं ।

अमेजनले आगामी वर्षहरूमा आधा मिलियनभन्दा बढी अमेरिकी कामदार भर्ती गर्न नपर्ने स्वचालित अर्थात् अटोमेशन योजनामा भर पर्ने भएको छ।

‘द न्यु योर्क टाइम्स’का अनुसार आन्तरिक रणनीतिक कागजात र कर्मचारीहरूसँगका अन्तर्वार्तामा आधारित रिपोर्टले अमेजनले २०३३ सम्म अमेरिकामा ६ लाखभन्दा बढी रोजगारीहरू आफ्नो रोबोटहरूले प्रतिस्थापन गर्न सक्ने लक्ष्य राखेको देखाएको छ।

विदेशी सञ्चारमाध्यमलाई उद्धृत गर्दै ‘टेलिग्राफ’ले जनाए अनुसार यो योजना कम्पनीले यस अवधिमा हालको तुलनामा करिब दोब्बर वस्तु बेच्ने अनुमान गरिएको बेला कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

प्राप्त विवरणअनुसार, अमेजनको रोबोटिक्स टोलीले कम्पनीका सम्पूर्ण सञ्चालनको ७५ प्रतिशत हिस्सा स्वचालित बनाउन लक्ष्य लिएको छ र २०२७ सम्म अमेरिकाभित्र करिब १ लाख ६० हजार जागिरहरू घट्ने अनुमान गरेको छ।

यस योजनाले अमेजनले प्रत्येक वस्तुको भण्डारण र ढुवानीमा करिब ३० सेन्ट बचत गर्न सक्नेछ। २०२५ देखि २०२७ बीच कम्पनीले स्वचालनमार्फत करिब १२.६ अर्ब डलर बचत गर्ने अपेक्षा गरिएको छ।

‘द न्यु योर्क टाइम्स’का अनुसार, सम्भावित रोजगार ह्रासका कारण आउने आलोचनालाई ध्यानमा राख्दै अमेजनले आफूलाई “सजग र जिम्मेवार कम्पनी”का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सामुदायिक परियोजनामा सहभागी हुने र “अटोमेशन” तथा “एआई” जस्ता शब्दहरू प्रयोग नगर्ने योजना बनाएको बताइएको छ।

त्यसको सट्टा, अमेजनले “एडभान्स टेक्नोलोजी” जस्ता सामान्य शब्द प्रयोग गर्ने र मानिससँगै काम गर्ने रोबोटका लागि “कोबोट” भन्ने शब्द प्रयोग गर्ने सम्भावनाको अध्ययन गरेको छ।

 

प्रकाशित: ६ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार