स्पाइवेयर निर्माता एनएसओ ग्रुपलाई ह्वाट्सएपमा प्रतिबन्ध

Technology Khabar ४ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

स्पाइवेयर निर्माता एनएसओ ग्रुपलाई ह्वाट्सएप प्रयोगकर्ताहरूलाई लक्षित गर्न प्रतिबन्ध लगाइएको छ।

अमेरिकी संघीय न्यायाधीशले मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपको स्थायी रोक आदेश जारी गर्ने माग स्वीकृत गर्दै इजरायली साइबर इंटेलिजेन्स कम्पनी एनएसओ ग्रुपलाई ह्वाट्सएप प्रयोगकर्तामाथि आक्रमण गर्नबाट रोक लगाएकी छन्। त्यससँगै न्यायाधीशले एनएसओले मेटालाई तिर्नुपर्ने जरिवाना रकम पनि ठूलो मात्रामा घटाएकी छन्।

टेकक्रञ्चका अनुसार यसअघि यस वर्ष, जूरीले २०१९ मा १,४०० भन्दा बढी ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गरिएको अभियानका कारण एनएसओ ग्रुपले मेटालाई १६७ मिलियन डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो। ती प्रयोगकर्तामध्ये मानवअधिकारकर्मी र पत्रकारहरू समेत थिए।

तर अमेरिकी जिल्ला अदालतकी न्यायाधीश फिलिस ह्यामिल्टनले शुक्रबार अदालतसँग एनएसओको व्यवहार “अत्यन्त आपत्तिजनक” भएको पर्याप्त प्रमाण नभएकाले दण्डस्वरूप क्षतिपूर्तिको अनुपात ९:१ मा सीमित गरिएको बताउँदै रकम घटाएर करिब ४ मिलियन डलर तोक्ने आदेश दिएकी छन्।

ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले कोर्‍टहाउस न्युज सर्भिसलाई पठाएको विज्ञप्तिमा भनेका छन्, “यो निर्णयले स्पाइवेयर निर्माता एनएसओलाई ह्वाट्सएप र हाम्रा विश्वभरका प्रयोगकर्तालाई पुनः लक्षित गर्नबाट स्थायी रूपमा रोक लगाएको छ।”

उनले थपे, “छ वर्षको कानुनी लडाइँपछि नागरिक समाजका सदस्यहरूलाई लक्षित गरेको एनएसओलाई जिम्मेवार बनाउने यस निर्णयको हामी स्वागत गर्छौं।”

एनएसओ ग्रुपले हालै आफू अमेरिकी लगानीकर्ताहरूको समूहद्वारा खरिद हुँदै गरेको पुष्टि गरेको छ।

प्रकाशित: ४ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया