कर्णाली प्रदेशमा टेलिकमको सेवा विस्तार

Technology Khabar २ कार्तिक २०८२, आईतवार

कर्णाली प्रदेशमा टेलिकमको सेवा विस्तार
फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकम कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतका निर्देशक डा. कमल लामिछानेका अनुसार बुलबुले, एयरपोर्ट र रङ्गशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न भइसकेको छ। त्यससँगै जुम्ला रोड, प्रदेश अस्पताल र लेकफर्सा क्षेत्रमा पनि टावर स्थापनाको काम पूरा गरिएको छ।

निर्देशनालयका अनुसार दशरथपुर र मेहलकुना क्षेत्रमा पनि टावर निर्माण सम्पन्न भइसकेको छ भने चौकुने, गुटु र पञ्चपुरी नगरपालिकामा सात वटा नयाँ टावर निर्माण गर्ने योजना अघि बढाइएको छ।

प्रदेशभर स्तरीय सेवा विस्तारका लागि फोरजी नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको बताइएको छ। धुलियाबिट, रामघाटलगायतका क्षेत्रमा रिङरोड स्वरूपको टावर सञ्जाल विस्तार कार्य भइरहेको छ।

पछिल्ला आन्दोलनले केही असर पारे पनि जिल्लाबाहिर फाइबर सेवा विस्तारको काम निरन्तर जारी रहेको निर्देशनालयले जनाएको छ। हालसम्म कर्णाली प्रदेशका विभिन्न स्थानमा तीन सयभन्दा बढी ठाउँमा बिटिएस टावर सञ्चालनमा आएका छन्। थप ३० वटा टावरका लागि आवश्यक विद्युतीकरण कार्यका लागि नेपाल विद्युत् प्राधिकरणलाई पेस्की रकम हस्तान्तरण भइसकेको छ।

यस्तै टेलिकमका सेवाहरू १६ वटा स्थानीय तहका मुख्य सहरमा विस्तार गर्ने काम सुरु गरिएको छ। डोल्पाको जगदुल्लामा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने हुम्लाको हिल्सामा तिहारपछि माघ मसान्तभित्र सेवा सुरु गर्ने तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिए।

हालसम्म कर्णाली प्रदेशका ३७ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भइसकेको छ। साथै ग्राहकमैत्री सेवा कक्ष आगामी माघभित्र सञ्चालनमा ल्याउने तयारी पनि गरिएको निर्देशनालयले जनाएको छ।

आजको गोरखापत्र

प्रकाशित: २ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया