वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा रेकर्ड स्तरमा,पृथ्वीको तापमान अझ बढाउने निश्चित: अध्ययन

Technology Khabar १ कार्तिक २०८२, शनिबार

काठमाडौं ।

सन् २०२४ मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने कार्बन डाइअक्साइडको मात्रा रेकर्ड स्तरमा पुगेको छ। नयाँ प्रतिवेदन अनुसार यसले पृथ्वीको तापमान अझ बढाउने निश्चित भएको छ।

सन् २०२३ देखि २०२४ सम्म कार्बन डाइअक्साइड  स्तर ३.५ पार्ट्स पर मिलियन (पीपीएम) ले बढेको छ, जुन सन् १९५७ देखि सुरु भएको आधुनिक अभिलेखपछि एक वर्षमा भएको सबैभन्दा ठूलो वृद्धि हो।

अनुसन्धानकर्ताहरूले यो वृद्धिलाई जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन आगलागीमा वृद्धि, र महासागर तथा वनजस्ता प्राकृतिक कार्बन अवशोषक (कार्बन सिङ्क) को क्षमतामा कमीसँग जोडेका छन्।

लाइभसाइन्सका अनुसार वैज्ञानिकहरूले दशकौँदेखि जलवायु परिवर्तन नियन्त्रणमा राख्न वायुमण्डलमा कार्बन डाइअक्साइड  को मात्रा घटाउन आवश्यक रहेको चेतावनी दिँदै आएका छन्।

तर विश्व मौसम संगठन (डब्लूएमओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यसको ठिक उल्टो देखाएको छ। प्रतिवेदनले कार्बन डाइअक्साइड  स्तर अभूतपूर्व रूपमा बढिरहेको उल्लेख गरेको छ। डब्लूएमओले उत्सर्जन घटाउन र निगरानी प्रणाली सुधार गर्न सिफारिस गरेको छ।

“कार्बन डाइअक्साइड  र अन्य हरितगृह ग्यासहरूले फसाएको तातोले हाम्रो जलवायु प्रणालीलाई थप असन्तुलित बनाइरहेको छ र चरम मौसमका घटना बढाइरहेको छ,” डब्लूएमओकी उपमहासचिव को ब्यारेटले भनेकी छन्। “उत्सर्जन घटाउनु जलवायु मात्र होइन, हाम्रो आर्थिक सुरक्षा र सामुदायिक स्थायित्वका लागि पनि अत्यावश्यक छ।”

कार्बन डाइअक्साइड  र अन्य हरितगृह ग्यासहरूले विकिरण अवशोषण गरेर ताप फसाउँछन्।

यी ग्यासहरूको सघनता बढ्दै जाँदा पृथ्वीको औसत तापक्रम पनि बढ्दै जान्छ। जलवायु तात्दै जाँदा मौसमको ढाँचा परिवर्तन, समुद्री सतह उकासिनु, खाद्यान्न उत्पादनमा असर र अर्बौँ मानिसको जीवनमा जोखिम पैदा हुने जस्ता परिणाम देखिँदै छन्।

जलवायु वैज्ञानिकहरूले कार्बन डाइअक्साइड  लाई सबैभन्दा प्रभावकारी हरितगृह ग्यासका रूपमा लिन्छन्। सन् १९९० यता वायुमण्डलीय ताप वृद्धि गर्ने कुल हरितगृह ग्यास प्रभावको करिब ८० प्रतिशत कार्बन डाइअक्साइड  ले योगदान गरेको अमेरिकी महासागर तथा वायुमण्डल प्रशासन (एनओएए) ले जनाएको छ।

वायुमण्डलीय कार्बन डाइअक्साइड  स्तर दशकौँदेखि निरन्तर बढ्दै आएको छ। सन् २०२४ मा ३.५ पीपीएमले वृद्धि हुनु सन् २०२३ को २.४ पीपीएम वृद्धिभन्दा बढी हो। गत दशकमा वार्षिक औसत वृद्धि २.५७ पीपीएम रहेकोमा यसपटक त्यसभन्दा उच्च दरमा वृद्धि भएको लाइभसाइन्सले उल्लेख गरेको छ।

सन् २०२४ मा वायुमण्डलीय कार्बन डाइअक्साइड  स्तर ४२३.९ पीपीएम पुगेको छ, जुन औद्योगिक क्रान्तिअघि (सन् १७५० अघि) भन्दा १५२ प्रतिशत बढी हो।

प्रतिवेदनले मिथेन (सीएच४) र नाइट्रस अक्साइड (एन२ओ) का सघनता पनि रेकर्ड स्तरमा पुगेको जनाएको छ। मिथेन स्तर १६६ प्रतिशत र नाइट्रस अक्साइड २५ प्रतिशतले बढेका छन्।

उत्सर्जन गर्ने सबैभन्दा ठूला देशहरूमा चीन, अमेरिका र भारत क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। सन् २०२४ मा चीनले कुल मानवीय हरितगृह ग्यास उत्सर्जनको २९.२ प्रतिशत योगदान गरेको छ। अमेरिकाको हिस्सा ११.१ प्रतिशत र भारतको ८.२ प्रतिशत रहेको छ। चीन र भारतका उत्सर्जन सन् २०२३ भन्दा अझ बढेका छन्, जबकि अमेरिकाको उत्सर्जन प्रायः स्थिर रहेको छ।

चीनले ठूलो मात्रामा कार्बन डाइअक्साइड  उत्सर्जन गर्ने भए पनि हालसालै उत्सर्जन घटाउने लक्ष्य तय गरेको छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताले विश्व तापक्रम सीमित राख्ने लक्ष्य लिएको थियो। ट्रम्पले तेल र ग्यास उत्खनन विस्तार गर्ने नीति पनि अघि सारेका छन्।

स्वतन्त्र वैज्ञानिक परियोजना क्लाइमेट एक्सन ट्रयाकरका अनुसार चीन र अमेरिकाले दुवैले पेरिस सम्झौता अन्तर्गतका लक्ष्य पूरा गर्न पर्याप्त कदम चालेका छैनन्। उक्त परियोजनाले चीनको प्रयासलाई “अत्यन्त अपर्याप्त” र अमेरिकाको प्रयासलाई “गम्भीर रूपमा अपर्याप्त” भनेर मूल्यांकन गरेको छ।

मानवले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा घटाउन तेल, ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग घटाउन र उत्सर्जन गर्ने गतिविधिहरू सीमित गर्न सक्छ। पृथ्वीका महासागर र वनजस्ता प्राकृतिक कार्बन अवशोषकहरूले पनि उत्सर्जित कार्बन डाइअक्साइड  को करिब आधा हिस्सा सोस्ने काम गर्छन्।

तर प्रतिवेदन अनुसार ती कार्बन अवशोषकहरू अहिले कमजोर बन्दै गएका छन्। पृथ्वी तात्दै जाँदा तातो पानीमा ग्यासहरू सजिलै नघुल्ने भएकाले महासागरले कम कार्बन डाइअक्साइड  सोस्न सक्छ। यस प्रक्रियालाई “पोजिटिभ फिडब्याक लूप” भनिन्छ, जसमा ताप बढ्दा झनै ताप वृद्धि हुने क्रम चलिरहन्छ।

“स्थल र महासागरका कार्बन अवशोषकहरू प्रभावकारी कम हुँदै गएको चिन्ता छ, जसले वायुमण्डलमा अझ बढी कार्बन डाइअक्साइड  रहिरहने र ताप वृद्धि तीव्र पार्ने सम्भावना बढाउँछ,” डब्लूएमएकी वरिष्ठ वैज्ञानिक अधिकारी ओक्साना तारासोभाले बताइन्। “यी प्रक्रियाहरू बुझ्न हरितगृह ग्यास निगरानीलाई अझ सुदृढ बनाउनु अत्यावश्यक छ।”

प्रकाशित: १ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया