मनाङ जिल्लाको उच्च हिमाली तिलिचो बेसक्याम्पमा आजदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

  • Technology Khabar | ३१ आश्विन २०८२, शुक्रबार
मनाङ जिल्लाको उच्च हिमाली तिलिचो बेसक्याम्पमा आजदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं ।

सरकारले मनाङ जिल्लाको तिलिचो बेसक्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरु मध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचो ताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

उक्त वडाका वडाध्यक्षको पहल तथा नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उच्च हिमाली क्षेत्रमा रहेको तिलिचो बेसक्याम्पमा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमका इञ्जिनीयर निरज गुप्ताले जानकारी दिए।

फोरजी सेवा सञ्चालनमा आएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले इन्जीनियर गुप्तासँग भिडियो कलमार्फत् जानकारी लिएका थिए। उक्त क्षेत्रबाट गरिएको भिडियो कलमा कुनै समस्या देखिएको थिएन। उनले निर्बाध रुपमा सञ्चारमन्त्रीलाई सो सेवा सफलतापूर्वक सञ्चालन गर्नका लागि गरिएको प्रयासबारे जानकारी दिएका थिए।

सञ्चारमन्त्री खरेलले इञ्जिनीयर गुप्तासहित नेपाल टेलिकम तिलिचोको टोली तथा वडाअध्यक्षसमेतलाई उक्त सफलताका लागि धन्यवाद दिएका थिए।

भिडियो कलका क्रममा इञ्जिनियर गुप्ताले फोरजी सञ्चालन भएपछि लेक लाग्ने लगायतका समस्याका बेला तत्काल उद्धारका लागि सहज हुने बताए। यसबाहेक उनले स्थानीय तथा पर्यटकलाई आफ्ना आफन्तसँग कुराकानी गर्न सहज हुने साथै डिजिटल पेमेन्टका लागि डाँडामा जानुपर्ने अवस्थाको अन्त्य हुने तथ्य थपे।

मन्त्री खरेलले खुशी व्यक्त गर्दै यसैगरी दुर्गम र दूरदराजका क्षेत्रमा सञ्चार सुविधा पुर्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प-बाइसघुम्ती  हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने भएको छ।

उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ।

 

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार