मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सेवा पुन: सुरु

Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सेवा पुन: सुरु
सांकेतिक फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेर पुरानो संरचना ध्वस्त भएको थियो। त्यसयता मोरङबाट राष्ट्रिय परिचयपत्र बनाउने काम बन्द थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ट्रस्ट संरचना निर्माण गरिदिएसँगै सेवा सूचारु गरिएको हो।

बुधबार नै सङ्घले जिल्ला प्रशासन कार्यालयलाई भवन हस्तान्तरणसमेत गरेको थियो। निर्माण व्यवसायी सङ्घ मोरङका अध्यक्ष महेशकुमार मिश्रले २० लाख रुपियाँ लागतमा तत्कालका लागि भवन निर्माण गरिएको हो। जिल्ला प्रशासन कार्यालयले नागरिकको सेवा प्रदानका लागि सहयोगको आग्रह गरेको उनले बताए।

नागरिकसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय परिचयपत्रको लागि निर्माण व्यवसायीले गरेको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आभार व्यक्त गरे। उनका अनुसार बिहान ७ देखि साँझ ७ बजेसम्म नागरिकलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्ने काम गरिने छ। अहिले विवरण मात्रै अद्यावधिक गर्ने काम गरिने र एक महिनापछिबाट परिचयपत्र उपलब्ध गराउने तयार समेत गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको जलेको भवनलाई सरसफाइ गरेर अहिले रङरोगन भइरहेको छ । यसमा समेत निर्माण व्यवसायीसहित नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले सहयोग गर्दै आएको छ। महासङ्घका कोशी अध्यक्ष राजेन्द्र राउतले यस अगाडि नै जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर व्यक्तिगत रूपमा सहयोगस्वरूप उपलब्ध गराएका थिए।

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया