Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
सन् २०१८ देखि अमेरिकाको युनाइटेड स्टेट्स मिण्टले अमेरिकी नवप्रवर्तन र “व्यक्तिगत वा समूहको नवीन प्रयास” लाई सम्मान गर्न विशेष १ डलरका सिक्का जारी गर्दै आएको छ।
हाल मिण्टले सन् २०२६ का ‘इनोभेसन’ १ डलर सिक्काका डिजाइन सार्वजनिक गरेको छ, जसमा एप्पलका सह–संस्थापक तथा पूर्व प्रमुख कार्यकारी स्टीभ जब्सलाई पनि समावेश गरिएको छ।
सिक्कामा युवा जब्सलाई क्यालिफोर्नियाको लहरदार पहाड र ओकका रुखहरू देखिने परिदृश्यको अगाडि पद्मासनमा बसेको अवस्थामा चित्रित गरिएको छ। घोषणामा भनिएको छ, “उनको मुद्राले र अभिव्यक्तिले देखाउँछ कि यस वातावरणले कसरी उनलाई जटिल प्रविधिलाई प्रकृतिजस्तै सहज र स्वाभाविक बनाउन प्रेरणा दियो।”
इन्ग्याजेटका अनुसार यस परियोजनाअन्तर्गत अमेरिकी मिण्टले विभिन्न राज्यहरू, डिस्ट्रिक्ट अफ कोलम्बिया र पाँच अमेरिकी क्षेत्रका आविष्कार र आविष्कारकर्ताहरूलाई प्रस्तुत गर्छ।
प्रत्येक राज्य वा क्षेत्रका गभर्नर तथा सम्बन्धित अधिकारीहरूसँग सहकार्य गरेर त्यहाँका मानिस र आविष्कारलाई प्रतिनिधित्व गर्ने डिजाइन तय गरिन्छ।
जब्स क्यालिफोर्नियाका प्रतिनिधिका रूपमा चयन भएका हुन्, जहाँ उनको जन्म भएको थियो र जहाँबाट उनले एप्पल सञ्चालन गरे, जुन उनको नेतृत्वमा विश्वकै ठूला कम्पनीमध्ये एक बनेको थियो।
जब्सको सिक्कासँगै मिण्टले अन्य राज्यका नवप्रवर्तनलाई पनि सम्मान गरेको छ। आयोवाका डा. नर्मन बोरलगलाई चित्रित गरिएको सिक्काले अधिक सहनशील बाली विकासका लागि उनको योगदानलाई चिनाउँछ।
विस्कन्सिनको सिक्कामा क्रे–१ सुपरकम्प्युटरको हवाई दृश्य समावेश गरिएको छ। अन्ततः, मिनेसोटाको प्रतिनिधित्व गर्ने ‘मोबाइल रेफ्रिजेरेसन’ विषयक सिक्कामा सन् १९४० को दशकको ट्रकमा अगाडि जडान गरिएको प्रारम्भिक रेफ्रिजेरेसन युनिट देखाइएको छ।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार