Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
पृथ्वीको चुम्बकीय क्षेत्रको कमजोर भाग पछिल्ला १० वर्षमा युरोपको आधा महाद्वीपजति क्षेत्रफलले बढेको पाइएको छ।
यो तथ्य युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का स्वार्म नामक उपग्रहहरूले पछिल्ला ११ वर्षमा संकलन गरेको तथ्यांकमा आधारित हो। स्वार्मले सन् २०१४ देखि ‘दक्षिण एटलान्टिक असमान्यता’ (साउथ एटलान्टिक एनोमाली) भनिने क्षेत्रमा निगरानी गर्दै आएको छ। नयाँ अध्ययनअनुसार यो क्षेत्र पूर्वतर्फ विस्तार मात्र भएको छैन बरु सन् २०२० पछि अझ तीव्र गतिमा कमजोर पनि बन्दै गएको छ।
“यो क्षेत्र अफ्रिकातर्फ र दक्षिण अमेरिकातर्फ फरक–फरक ढंगले परिवर्तन भइरहेको छ। केही विशेष कारणले गर्दा यहाँको क्षेत्र अरूभन्दा बढी कमजोर बन्दै गएको छ,” अध्ययनका प्रमुख लेखक तथा डेनमार्कको टेक्निकल युनिभर्सिटीका भू–चुम्बकत्व विज्ञ प्राध्यापक क्रिस फिनलेले ईएसएलाई बताएका छन्।
स्पेस डटकमका अनुसार भूगर्भीय प्रमाणहरूले दक्षिण एटलान्टिक असमान्यता करिब १ करोड १० लाख वर्षदेखि विद्यमान रहेको देखाउँछन्। तर अन्तरिक्ष युग सुरु भएपछि मात्र यसले ठोस असर पार्ने सम्भावना देखिएको हो।
पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने आवेशित कणहरूलाई पृथ्वीमा ठोक्किनबाट रोक्छ। तर जब उपग्रह वा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) दक्षिण एटलान्टिक असमान्यता माथिबाट उड्छन्, त्यहाँ पृथ्वीको सुरक्षात्मक ढाल कमजोर हुने भएकाले ती कणहरूले उपकरणहरूमा क्षति पुर्याउन वा भूमिसँगको सञ्चारमा अवरोध गर्न सक्छन्।
पृथ्वीको केन्द्रमा रहेको पग्लिएको फलामको घुमाइबाट शक्तिशाली विद्युत् धारा उत्पन्न हुन्छ, जसले चुम्बकीय क्षेत्र बनाउँछ। अध्ययनका वैज्ञानिकहरूका अनुसार पृथ्वीको बाहिरी पग्लिएको भाग र ठोस म्यान्टलबीचको क्षेत्रमा “असामान्य ढाँचा” देखिएको छ, जहाँ चुम्बकीय क्षेत्र अनौठो तरिकाले व्यवहार गरिरहेको स्पेस डटकम उल्लेख गरेको छ।
“दक्षिण एटलान्टिक असमान्यताको मुनि हामीले त्यस्ता क्षेत्रहरू देखेका छौँ जहाँ चुम्बकीय क्षेत्र केन्द्रबाट बाहिर निस्कने सट्टा उल्टै फिर्ता भित्र पसेको छ। स्वार्म उपग्रहको डेटा अनुसार यीमध्ये एउटा क्षेत्र अफ्रिकातर्फ पश्चिम सर्दै गएको छ, जसले उक्त क्षेत्र अझ कमजोर पारिरहेको छ,” फिनले बताए।
स्वार्मको तथ्यांकअनुसार दक्षिण एटलान्टिक क्षेत्रमा चुम्बकीय क्षेत्र कमजोर हुँदै गएको अवस्थामा अन्य केही भागमा भने बलियो बन्दै गएको छ। उदाहरणका रूपमा साइबेरियाको माथिल्लो भागमा यो क्षेत्र ग्रिनल्यान्डको आकार बराबर विस्तार भएको छ, तर क्यानाडामाथिको बलियो क्षेत्र भारतको आकारजति घटेको छ।
स्वार्मले चुम्बकीय उत्तरी ध्रुव १९औँ शताब्दीको मध्यदेखि नै क्यानाडाबाट सर्दै साइबेरियातर्फ गइरहेको पनि पत्ता लगाएको छ। धेरै नेभिगेशन प्रणाली (जस्तै कम्पास) चुम्बकीय उत्तरी ध्रुवमा आधारित हुने भएकाले यस परिवर्तनले व्यावहारिक असर पार्न सक्छ।
वैज्ञानिकहरूका अनुसार यो अध्ययनले पृथ्वीको चुम्बकीय क्षेत्र कति जटिल छ भन्ने देखाएको साथै स्वार्मजस्ता अन्तरिक्ष यानहरूले यसलाई बुझ्न कति महत्वपूर्ण भूमिका खेलेका छन् भन्ने प्रमाणित गरेको छ।
“पृथ्वीको चुम्बकीय क्षेत्र बुझ्न खोज्दा यसलाई साधारण डण्डा–चुम्बकजस्तो मात्र ठान्नु हुँदैन। स्वार्मजस्ता उपग्रहहरूबाटै हामीले यसको संरचना स्पष्ट रूपमा नक्साङ्कन गर्न र परिवर्तनहरू बुझ्न सक्छौँ,” फिनले भने।
स्वार्मका तीन उपग्रह सन् २०१३ नोभेम्बरमा रुसको प्लेसेत्स्क कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो। त्यसबेलादेखि यिनीहरूले “अन्तरिक्षबाट चुम्बकीय क्षेत्र मापन गर्ने सबैभन्दा लामो निरन्तर रेकर्ड” उपलब्ध गराइरहेका छन्।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार