
काठमाडौं ।
टोयोटाले सन् २०२७ भित्र सोलिड स्टेट ब्याट्रीसहितको विश्वकै पहिलो विद्युतीय गाडी (ईभी) बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ। यसको ब्याट्री अहिले प्रयोग हुने ब्याट्रीभन्दा छिटो चार्ज हुने र लामो समय टिक्ने अपेक्षा गरिएको छ।
विश्वकै ठूला कार निर्मातामध्ये एक टोयोटा र जापानस्थित सुमितोमो मेटल माइनिङ कम्पनीले अक्टोबर ८ मा सोलिड-स्टेट ब्याट्रीका लागि क्याथोड सामग्री उत्पादन गर्ने संयुक्त लगानी गर्ने घोषणा गरेका हुन्। यी ब्याट्री टोयोटाका विद्युतीय गाडीमा प्रयोग गरिने छन्।
रोयटर्सका अनुसार टोयोटाले नयाँ सोलिड-स्टेट ब्याट्रीसहितका गाडीहरू सन् २०२७ वा २०२८ भित्र बजारमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ। संयुक्त विज्ञप्तिमा दुवै कम्पनीले “सोलिड-स्टेट ब्याट्रीको व्यावहारिक प्रयोग गर्ने विश्वकै पहिलो सफलता हासिल गर्ने लक्ष्य राखेको” उल्लेख गरेका छन्।
सामान्य लिथियम–आयन ब्याट्रीमा दुई ठोस इलेक्ट्रोडबीच तरल इलेक्ट्रोलाइट हुन्छ। सोलिड-स्टेट ब्याट्रीमा यो तरल भागलाई ठोस पदार्थले प्रतिस्थापन गरिनेछ।
लिथियम–आयन ब्याट्रीको तरल इलेक्ट्रोलाइट दहनशील हुने भएकाले सोलिड-स्टेट ब्याट्री कम आगलागी जोखिमयुक्त मानिन्छ। यसमा उर्जा घनत्व पनि बढी हुने भएकाले समान आकारको ब्याट्रीले गाडीलाई अझ लामो दूरी चलाउन सक्नेछ।
टोयोटा र सुमितोमो मेटल माइनिङले सन् २०२१ देखि सोलिड-स्टेट ब्याट्रीका सामग्रीमा संयुक्त रूपमा अनुसन्धान गर्दै आएका छन्। यी कम्पनीहरूले “अत्यधिक टिकाउ क्याथोड सामग्री” विकास गरेको बताएका छन्, जसलाई सोलिड-स्टेट ब्याट्रीमा इलेक्ट्रोडका रूपमा प्रयोग गरिनेछ। तर नयाँ क्याथोड सामग्रीका विवरण सार्वजनिक गरिएको छैन।
सुमितोमो मेटल माइनिङले सन् २०२८ देखि यो क्याथोड सामग्री उत्पादनकर्तालाई आपूर्ति गर्ने योजना बनाएको र सुरुवातमा टोयोटालाई प्राथमिकता दिइने जनाइएको छ।
टोयोटासँगै होन्डा, निसान, बीएमडब्ल्यू र फक्सवागनजस्ता अन्य कार निर्माताहरू पनि आफ्नै सोलिड-स्टेट ब्याट्री विकास गरिरहेका छन्। यीमध्ये धेरैले आगामी केही वर्षभित्र सोलिड-स्टेट ब्याट्रीसहितका विद्युतीय गाडी बजारमा ल्याउने लक्ष्य राखेका छन्।
होन्डाले पहिले नै सन् २०३० सम्ममा एक पटकको चार्जमा १,००० किलोमिटर (६२० माइल)सम्म यात्रा गर्न सक्ने सोलिड-स्टेट ब्याट्री उत्पादन सुरु गर्ने जनाएको छ, जुन अहिलेका उत्कृष्ट ईभीको तुलनामा दोब्बर दूरी हो।
सिरेमिक ब्याट्री निर्माता प्रो–लोजियमले पनि गत वर्ष यस्तो सोलिड-स्टेट ब्याट्रीको अवधारणा प्रस्तुत गरेको थियो, जसलाई पाँच मिनेटमै ५ प्रतिशतबाट ६० प्रतिशत क्षमतासम्म चार्ज गर्न सकिने बताइएको छ।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार