
काठमाडौं ।
सामाजिक सञ्जाल इन्स्टाग्रामले प्लेटफर्ममा बालबालिकाहरूले के हेर्न सक्छन् भन्ने कुरामा नयाँ प्रतिबन्धहरू थप्न किशोरकिशोरी एकाउण्टस् (खाताहरू) मा सेटिङहरू कडा गर्ने भएको छ।
मेटाले पहिलो पटक एक वर्ष अघि इन्स्टाग्रामको लागि टिन एकाउण्टस् (किशोरकिशोरीको लागि खाता) प्रस्तुत गरेको थियो। कडा गोपनीयता सेटिङहरू र अभिभावकीय नियन्त्रणहरूसँग आउने थप “क्लोज्ड” खाताहरूमा कम्पनीले स्वचालित रूपमा किशोरकिशोरीहरूलाई सार्न थालेको थियो।
कम्पनीले हालै फेसबुक र मेसेन्जरमा टिन एकाउण्टस् प्रस्तुत गरेको र आफ्नो उमेरको बारेमा झूट बोल्ने किशोरकिशोरीहरू पत्ता लगाउन एआई टुल्स प्रयोग गरिरहेको छ।
त्यसैगरी मेटाले अब यसलाई एक कदम अगाडि बढाउने भएको छ।
पछिल्ला परिवर्तनहरूसँगै, किशोरकिशोरीहरूले अब “नियमित रूपमा उमेर–अनुपयुक्त सामग्री साझा गर्ने” जो कोहीको सामग्री फलो (पछ्याउन) वा भ्यू (हेर्न) सक्षम हुनेछैनन्।
मेटाले यी खाताहरूलाई किशोरकिशोरीहरूको रिकमेन्डेसन (सिफारिसहरू)मा वा एपमा सर्च रिजल्ट (खोज परिणाम) हरूमा देखा पर्नबाट पनि रोक लगाउने बताएको छ।
इन्स्टाग्रामले किशोरकिशोरीहरूको लागि “वयस्क खोज शब्दहरूको फराकिलो दायरा” लाई पनि रोक्ने भएको छ जसमा अलकोहल (रक्सी), ब्लडलेटिङ (रक्तपात) र जानाजानी गरिने मिसस्पेलिङस् (गलत हिज्जे) जस्ता शब्दहरू समावेश छन् जुन इन्स्टाग्राम फिल्टरहरूबाट बच्नको लागि गरिने एक सामान्य रणनीति भएको बताइएको छ।
अझ कडा प्रतिबन्ध चाहने अभिभावकहरूका लागि, इन्स्टाग्रामले नयाँ “रेसट्रिक्टेड कन्टेन्ट” (प्रतिबन्धित सामग्री) सेटिङ पनि थप्ने बताइएको छ जसले “अझ बढी” सामग्रीलाई फिल्टर गर्ने उल्लेख गरिएको छ। तर यसको बारेमा थप विवरण उपलब्ध नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार