सामाजिक सञ्जालले भन्दैमा नेतृत्व नछाड्ने एमाले सभापति ओलीको भनाई

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व नछाड्ने एमाले सभापति ओलीको भनाई
फाइल तस्बिर

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताए।

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु। तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन।” अध्यक्ष ओलीले थपे, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो। कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु। यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन।”

उनले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आगो लगाउन नसक्ने उल्लेख गरे। उनले नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने तत्त्वले देश र देशको सम्पत्ति, सम्पदा मन नपराएको बताए। सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका बर्दी र हतियार खोस्ने काम राष्ट्रिय झन्डा बोक्नेले नगर्ने उनले उल्लेख गरे।

भदौ २३ र २४ को घटना अनपेक्षित भएको उनको धारणा थियो। उनले लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै जनताले नै लोकतन्त्र रक्षा गर्ने उल्लेख गरे। उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्नेखालको पार्टी नभएको स्पष्ट पारे। एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने पार्टी भएको अध्यक्ष ओलीले बताए।

उनले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गरे। जेनजी आन्दोलनपछि राष्ट्रिय महाधिवेशन गर्ने दबाबमा रहेको नेकपा (एमाले) को ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ। तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति अन्तिम टुङ्गो लगाउने छ।

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया