गुगलको जेमिनीले जीमेल प्रयोगकर्ताका लागि ल्यायो बैठक तय गर्न सघाउने फिचर “हेल्प मी शेड्युल”

  • Technology Khabar | ३० आश्विन २०८२, बिहीबार
गुगलको जेमिनीले जीमेल प्रयोगकर्ताका लागि ल्यायो बैठक तय गर्न सघाउने फिचर “हेल्प मी शेड्युल”

काठमाडौं ।

गुगलले जीमेल प्रयोगकर्ताहरूका लागि बैठक तय गर्न सजिलो बनाउने नयाँ एआई उपकरण सार्वजनिक गरेको छ। मंगलबार कम्पनीले ‘जेमिनी’ प्रविधिबाट संचालित “हेल्प मी शेड्युल” नामक सुविधा सुरू गरेको हो, जसले प्रयोगकर्ताको क्यालेन्डर हेरी उपयुक्त बैठक समय सुझाउने र सो समय प्रस्ताव गर्नका लागि इमेलमा देखाउने गर्छ।

कम्पनीका अनुसार यो सुविधा एक-एकजनाबीच हुने भेटघाटका लागि मात्रै डिजाइन गरिएको हो, समूह वा धेरै व्यक्तिहरू सामेल हुने बैठकका लागि होइन।

टेकक्रञ्चका अनुसार यो नयाँ सुविधा गुगलले वर्कस्पेसका दैनिक उपकरणहरूमा एआई समावेश गर्ने क्रममा ल्याएको हो। यससँगै कम्पनीले नयाँ इमेज एडिटिङ मोडेल ‘नानो बनाना’, गुगल स्लाइड्समा थप जेमिनी फिचरहरू, टिम सदस्यहरूसँग साझा गर्न सकिने ‘जेम्स’ नामका कस्टम एआई असिस्टेन्टहरू, नोटबुकएलएमका नयाँ ढाँचा र गुगल भिड्सका सुधारिएका एआई भिडियो उपकरणहरू समेत सार्वजनिक गरेको छ।

यो बैठक निर्धारण सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले जीमेलको इमेल कम्पोज स्क्रिनमुनि देखिने “हेल्प मी शेड्युल” बटनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि प्रयोगकर्ताको खाली समयसहितका विभिन्न समय विकल्पहरू देखिनेछन्।

आवश्यक परे ती विकल्पहरू सम्पादन वा हटाउन सकिनेछ। त्यसपछि ती समयहरू इमेलमा राखी पठाउन सकिन्छ। प्राप्तकर्ताले आफूलाई मिल्ने समय चयन गरेपछि उक्त बैठक स्वतः दुबैको क्यालेन्डरमा देखिनेछ।

हाल बजारमा क्यालेण्डली, डूडल,जूम, हबस्पट लगायतका अन्य स्वचालित बैठक सहायक उपकरणहरू उपलब्ध भए पनि गुगलले आफ्नो उपकरण जेमिनी एआईको प्रयोग गरेर इमेलको सन्दर्भअनुसार समय सुझाउने बताएको छ। उदाहरणका लागि, यदि कसैले इमेलमा “अर्को हप्ता भित्र ३० मिनेटको बैठक गर्न चाहन्छु” भने भनेको छ भने, प्रणालीले प्रयोगकर्ताको तालिकाअनुसार केवल त्यही अवधिभित्रका ३० मिनेटका समयहरू मात्र सुझाव दिनेछ।

यसअघि पनि गुगलले क्यालेन्डरमा ‘अपोइन्टमेन्ट सेड्युलिङ’ सुविधा दिएको थियो, तर यो जीमेलसँग जोडिएको थिएन र एआई पनि प्रयोग भएको थिएन। त्यसैगरी, मंगलबारै गुगलले अर्को वर्कस्पेस सुविधा पनि अद्यावधिक गर्दै ‘गुगल कीप’ का रिमाइन्डरहरू अब स्वचालित रूपमा ‘गुगल टास्क्स’ मा सुरक्षित हुने जनाएको छ।

 

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...