Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेलले अमेरिकी प्रविधि कम्पनी आईबीएमसँग भागीदारी गरेर आफ्नै नयाँ क्लाउड प्लेटफर्ममार्फत आईबीएमका सेवा प्रदान गर्ने भएको छ। कम्प्युटिङ क्षमताको माग बढिरहेका बेला दुवै कम्पनीले बुधबार यो घोषणा गरेका हुन्।
भारतका कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोग र स्थानीय डेटा भण्डारणका आवश्यकताका कारण क्लाउड सेवाको माग उच्च बन्दै गएपछि आफ्ना क्लाउड प्लेटफर्महरू विस्तार गर्न प्रयासरत छन्।
यस साझेदारीमार्फत एयरटेल क्लाउडका ग्राहकहरूले बैंकिङ, स्वास्थ्य, सरकार लगायत नियमनित क्षेत्रका एप्लिकेसनहरूका लागि आईबीएमका एआई-रेडी सर्भरहरू प्रयोग गर्न सक्नेछन्।
यो घोषणा गुगलले भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा पाँच वर्षभित्र १५ अर्ब डलर लगानी गरी एआई डाटा सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गरेको भोलिपल्ट आएको हो। एयरटेल गुगलसँग सहकार्य गरेर विशाखापट्टनम बन्दरगाह सहरमा उक्त डेटा सेन्टर स्थापनामा सहभागी हुनेछ।
रोयटर्सका अनुसार भारती एयरटेलको डिजिटल इकाइ एक्सटेलिफाईले यस वर्ष अगस्टमा एयरटेल क्लाउड सेवा सार्वजनिक गरेको थियो।
एयरटेलका उपाध्यक्ष र प्रबन्ध निर्देशक गोपाल भिट्टलका अनुसार आईबीएम र एयरटेलले चाँडै मुम्बई र चेन्नईमा दुई नयाँ मल्टिजोन रिजन (एमजेडआर) स्थापना गर्नेछन्।
एमजेडआर भनेको फरक-फरक क्षेत्रमा फैलिएको क्लाउड पूर्वाधार हो, जसले कुनै क्षेत्रमा समस्या आए पनि डाटा र सञ्चालन अबाधित राख्न सहयोग गर्छ। यसले भारतीय व्यवसायहरूलाई डेटा बसोबास सम्बन्धी आवश्यकताहरू पूरा गर्न र महत्वपूर्ण कार्यभार तथा एप्लिकेसनहरू सधैं सञ्चालनमा राख्न सहयोग पुर्याउने कम्पनीहरूले बताएका छन्।
प्रकाशित: २९ आश्विन २०८२, बुधबार