Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी भएको छ। राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो।
मोबाइलको ब्याट्री पड्किन गई कुर्सीमा आगलागी हुँदा सोही आगोबाट ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको कच्ची घरमा आगो सल्किन जाँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामानहरू जली पूर्ण रूपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
घरबाट नागरिकता निकाल्ने क्रममा २६ वर्षीय प्रजाको दाहिने कान र घाँटीमा आगोले पोलेको छ। पोलेर घाइते भएका प्रजाको घरायसी उपचार गरिएको छ। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको क्षतिको यकिन विवरण खुल्न सकेको छैन। घटना भएको स्थान विकट रहेकाले थप जानकारी लिनका लागि प्रहरी चौकी कान्द्राङबाट प्रहरी गइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २९ आश्विन २०८२, बुधबार