Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
इटलीको क्याम्पी फ्लेग्रेई ज्वालामुखीमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर वैज्ञानिकहरूले पहिल्यै नदेखिएका भूगर्भीय संरचनाहरू पत्ता लगाएका छन्, जसमा ५ म्याग्निच्युडसम्मका भूकम्प उत्पन्न गर्न सक्ने स्पष्ट “रिङ फल्ट” समेत समावेश छ।
सन् २०२५ मा अहिलेसम्म क्याम्पी फ्लेग्रेई क्षेत्रमा ४ म्याग्निच्युडभन्दा माथिका पाँच भूकम्प आइसकेका छन्। यो ज्वालामुखी २००५ देखि नै अस्थिरता देखाउँदै आएको भए पनि धेरै भूकम्पहरू पहिचानबिना गुज्रिएका थिए। नयाँ अध्ययनले एआई प्रविधि प्रयोग गरी पछिल्ला केही वर्षमा रेकर्ड नभएका दशौं हजार भूकम्पीय गतिविधि पत्ता लगाएको हो।
“यो खतरनाक क्षेत्र हो भनेर हामीलाई धेरै वर्षदेखि थाहा थियो,” अध्ययनका सह–लेखक र स्ट्यानफोर्ड विश्वविद्यालयका भूभौतिक विज्ञानी विलियम एल्सवर्थले भने। “अब हामी पहिलोपटक ती भूगर्भीय संरचनाहरू प्रत्यक्ष देखिरहेका छौं, जसले यस्ता गतिविधिहरू गराउँछ।”
गत ४० हजार वर्षमा क्याम्पी फ्लेग्रेईले युरोपका दुई सबैभन्दा ठूलो विस्फोटहरू गराइसकेको छ। १९५० दशकदेखि यहाँको अस्थिरता नजिकबाट अध्ययन हुँदै आएको भए पनि, १९८० दशकमा १६ हजार भूकम्पपछि ४० हजार बासिन्दा सार्नुपरेको घटना भएपछि निगरानी अझ तीव्र बनाइएको थियो।
लाइभसाइन्सका अनुसार आधुनिक जोखिमहरू बुझ्नका लागि एल्सवर्थ र उनको टोलीले यस्तो एआई उपकरण विकास गरे, जसले पुराना तरिकाले पत्ता लगाउन नसकिएका भूकम्पहरू समेत चिन्हित गर्न सक्छ।
परम्परागत रूपमा, भूकम्पविद्हरूले भूकम्पीय तरङ्ग (सेइस्मोग्राम) का ग्राफ विश्लेषण गरेर भूकम्प पत्ता लगाउँछन्। स्ट्यानफोर्डका प्राध्यापक तथा सह–लेखक ग्रेग बेरेजाका अनुसार यो प्रक्रिया “फेज पिकिङ” भनिन्छ, जसमा ग्राफमा देखिएको अचानक हल्लाको वृद्धि हेर्ने गरिन्छ।
“तर यो विधिले सिक्दै जान्दैन, समयसँगै सुधारिँदैन,” बेरेजाले बताए। “हाम्रो विधिमा भने मेशिन लर्निङ मोडेल प्रयोग गरी लाखौं उदाहरणहरूको आधारमा प्रशिक्षण दिइन्छ, जसले यो प्रक्रिया अझ प्रभावकारी रूपमा गर्न सिक्छ।”
बेरेजाका अनुसार टोलीले क्याम्पी फ्लेग्रेईलाई पहिलो अध्ययनस्थलका रूपमा छान्नुको कारण यो क्षेत्रबारे अझ राम्रो बुझाइको तत्काल आवश्यकता थियो। करिब ३ लाख ६० हजार मानिस ११ किलोमिटर लामो काल्डेराभित्र बस्छन्, र १५ लाखभन्दा बढी वरिपरिको क्षेत्रमा बसोबास गर्छन्।
पछिल्ला दुई दशकदेखि बढ्दो अस्थिरता २०१८ तिर झन तीव्र भएको थियो। अहिले विस्फोटको कुनै संकेत नभए पनि, ठूलो वा सतह नजिकको भूकम्पले जनधनमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ।
सेप्टेम्बर ४ मा साइन्स पत्रिकामा प्रकाशित अध्ययनअनुसार, सन् २०२२ देखि २०२५ को मध्यसम्म क्याम्पी फ्लेग्रेईमा भएका तीन-चौथाइ भूकम्प परम्परागत विधिबाट पत्ता लागेका थिएनन्। पुरानो विधिले १२ हजार भूकम्प दर्ता गरेको भए पनि एआईले वास्तविक संख्या ५४ हजार नजिक रहेको देखाएको छ।
‘यी भूकम्पहरूको स्थान नक्साङ्कन गर्दा पृथ्वीको सतहमा रहेका चिरा (फल्ट) पत्ता लागेका छन्, जुन पहिल्यै देखिएको थिएन। विशेष गरी, नेपल्सको पश्चिममा रहेको पोज्जुओली शहरमुनि दुई फल्टहरू एकअर्कामा मिसिएका भेटिए, जहाँ १९८० दशकमा स्थानीय बासिन्दा सारिएको थियो। यी फल्टहरूको स्थानले “५ म्याग्निच्युडसम्मको भूकम्प असम्भव छैन” भन्ने संकेत गर्छ’, एल्सवर्थले भने।
पोज्जुओलीमा १९८० दशकमा जमिन माथि उठेको थियो, र अहिले पनि त्यही अवस्था दोहोरिँदै छ — शहरमुनि हरेक वर्ष करिब १० सेन्टिमिटर (४ इन्च) जमिन माथि उठिरहेको छ। उक्त क्षेत्र वरिपरि रहेका चिराहरूले एउटा पातलो तर स्पष्ट “रिङ फल्ट” बनाएको पाइएको छ, जुन समुद्रसम्म फैलिएको छ।
“हाम्रो इटालियन सहकर्मीहरू यो रिङ यति स्पष्ट देखिएला भन्ने अपेक्षा गरेकै थिएनन्,” अध्ययन प्रमुख लेखक र बेरेजाको ल्याबका विद्यार्थी सिङ टानले भने। “पहिलेका डाटामा दक्षिणतिर केही गतिविधि देखिएको भए पनि, उत्तरतिर यति स्पष्ट रूपमा देखिएको पहिलोपटक हो।”
बेरेजाका अनुसार रिङ फल्टमा हुने भूकम्पीय गतिविधिले प्रणालीमा हुने परिवर्तन र भविष्यका भूकम्पहरूको तीव्रता अनुमान गर्न सहयोग गर्न सक्छ, तर यसले क्याम्पी फ्लेग्रेईको अर्को विस्फोट कहिले हुने हो भन्ने नयाँ जानकारी प्रदान गर्दैन।
“सन् २०२२ देखि २०२५ को मध्यसम्म विश्लेषण गरिएको सबै भूकम्पीय गतिविधि सतहदेखि ४ किलोमिटर मुनि मात्र सीमित छ, र म्याग्मा सतहतर्फ सरेको कुनै संकेत देखिँदैन,” उनले भने।
टोलिले गरेको अध्ययनले देखाएको छ कि यो एआई प्रविधि अन्य ज्वालामुखीहरूको अध्ययनमा पनि उपयोगी हुन सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार हाल भूकम्पीय गतिविधि बढिरहेका स्थानहरू — जस्तै ग्रीसको स्यान्टोरिनी — मा यस प्रविधिबाट भूगर्भीय संरचनाको स्पष्ट बुझाइ प्राप्त गर्न सकिनेछ।
प्रकाशित: २९ आश्विन २०८२, बुधबार