चीनमा नयाँ आईफोन एयरको प्रि-अर्डर यसै सातादेखि सुरु हुने

  • Technology Khabar | २९ आश्विन २०८२, बुधबार
चीनमा नयाँ आईफोन एयरको प्रि-अर्डर यसै सातादेखि सुरु हुने

काठमाडौं ।

एप्पलले चीनमा आफ्नो नयाँ आईफोन एयरको प्रि-अर्डर यसै सातादेखि सुरु हुने जनाएको छ। कम्पनीका अनुसार प्रमुख चिनियाँ दूरसञ्चार सेवाप्रदायकहरूले ई–सिम सेवाका लागि नियामक स्वीकृति प्राप्त गरेसँगै यो घोषणा गरिएको हो।

७,९९९ युआन (करिब १,१२१ अमेरिकी डलर) मूल्यबाट सुरु हुने आईफोन एयर चीनमा सेवा प्रदायकहरूको ई–सिम समर्थन प्राप्त गर्ने एकमात्र मोडेल हुनेछ। ई–सिम भनेको उपकरणभित्र नै समावेश गरिएको डिजिटल सिम हो।

चीनका तीन ठूला दूरसञ्चार कम्पनीहरू चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमलाई नियामक निकायले परीक्षणका रूपमा ई–सिम सेवा सञ्चालन गर्न अनुमति दिएको उद्योग मन्त्रालयसँग सम्बन्धित वेबसाइटले सोमबार जनाएको छ।

“आईफोन एयर अर्को साताबाट उपलब्ध हुनेछ, र प्रि–अर्डर यो शुक्रबार, अक्टोबर १७ बाट सुरु हुँदैछ भन्ने घोषणा गर्न हामी उत्साहित छौं !” एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कुकले भनेका छन्।

हाल शाङ्घाइमा रहेका कुकले यो जानकारी चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत दिएका हुन्। यो घोषणा चीनमा आईफोन १७ सार्वजनिक भएको केही हप्तापछि गरिएको हो।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...