
काठमाडौं ।
गुगलले भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा कृत्रिम बुद्धिमत्ता (एआई) डाटा सेन्टर स्थापनाका लागि पाँच वर्षमा १५ अर्ब डलर लगानी गर्ने जनाएको छ। यो लगानी विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारतमा कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुने बताइएको छ।
गुगलले यस वर्ष करिब ८५ अर्ब डलर डेटा सेन्टर क्षमता विस्तारका लागि खर्च गर्ने प्रतिबद्धता जनाएको छ, किनभने ठूला प्रविधि कम्पनीहरूले एआई सेवाको बढ्दो माग पूरा गर्न नयाँ डाटा सेन्टर पूर्वाधार निर्माणमा ठूलो लगानी गरिरहेका छन्।
“संयुक्त राज्य अमेरिका बाहेक विश्वमै हामीले लगानी गर्न लागेको सबैभन्दा ठूलो एआई हब यही हो,” गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत थोमस कुरियनले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बताएका थिए। उनका अनुसार उक्त लगानी आगामी पाँच वर्षमा चरणबद्ध रूपमा हुने छ।
“यो १२ देशमा स्थापना भइरहेका एआई केन्द्रहरूको विश्वव्यापी सञ्जालको हिस्सा हो,” उनले थपे।
विशाखापट्टनम बन्दरगाह शहरमा बन्ने डेटा सेन्टर क्याम्पसको प्रारम्भिक क्षमता १ गिगावाट रहने बताइएको छ, जसलाई पछि “बहुविध गिगावाट” सम्म विस्तार गरिनेछ।
यसअघि राज्यका अधिकारीहरूले उक्त केन्द्रका लागि करिब १० अर्ब डलरको लगानी हुने अनुमान गरेका थिए। राज्य सरकारका अनुसार यो परियोजनाबाट करिब १ लाख ८८ हजार रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ।
भारतमा करिब एक अर्ब इन्टरनेट प्रयोगकर्ता रहेको र यसलाई प्रमुख बजारको रूपमा हेर्ने माइक्रोसफ्ट र अमेजनले पनि त्यहाँ अर्बौं डलर लगानी गरी डेटा सेन्टरहरू स्थापना गरिसकेका छन्।
भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानीले पनि डाटा सेन्टर क्षमतामा लगानी गर्ने योजना सार्वजनिक गरिसकेका छन्।
एआई प्रविधिका लागि अत्यधिक कम्प्युटिङ शक्तिको आवश्यकता पर्छ, जसले हजारौं चिपहरूलाई समूहमा जोड्न सक्ने विशेष डाटा सेन्टरहरूको माग बढाएको छ।
गुगलको मातृ कम्पनी अल्फाबेट इन्कले भारतलाई आफ्नो प्रमुख बजारका रूपमा लिएको छ, जहाँ युट्युबका सबैभन्दा धेरै प्रयोगकर्ता छन् र एन्ड्रोइड फोनको प्रयोग हावी छ।
तर, अमेरिकी प्रविधि कम्पनी गुगल हाल भारतमा व्यापारिक अभ्याससम्बन्धी प्रतिस्पर्धा आयोगका मुद्दाहरू र युट्युबको एआई नीतिविरुद्ध बलिउड कलाकार दम्पतीले दायर गरेको मुद्दाको सामना गरिरहेको छ।
गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार