लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीको आशा

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन्। विश्वविद्यालयको सातौं सभालाई आइतबार सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

मुख्यमन्त्री आचार्यले पछिल्लो केही महिनायता गरिएको मेहनतले आशा जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए। “प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,” उनले भने, “विश्वविद्यालयलाई जनस्तरसम्म पुऱ्याउन सबैले मिलेर काम गर्नु पर्छ।”

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गमस्थल भएकाले यसले तीन वटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए। “यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ,” उनले भने, “सरकारका तर्फबाट आवश्यक सहयोग र साथ रहने छ।”

सभामा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए। सातौँ सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावमा छलफल गरिएको थियो।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र २०६२/६३ को बजेट स्वीकृति अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक- कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्तावहरू समावेश थिए।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया