Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीमा जोडिएको छ। वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआइडी प्रणालीमा जोडिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार आउँदो बुधबारदेखि यो प्रणाली अनिवार्य गर्न लागिएको हो। यसअघि केही तालिमप्रदायक संस्थाले एउटै व्यक्तिको बायोमेट्रिक धेरै जनामा प्रयोग गर्ने गरेको विभागको अनुगमनमा पाइएको थियो।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अभिमुखीकरण तालिमलाई एनआइडीमा जोडेसँगै अनिवार्य रूपमा सम्बन्धित व्यक्ति नै अभिमुखीकरण तालिममा उपस्थिति भई बायोमेट्रिक गर्नुपर्ने व्यवस्थाले यसप्रकारका गुनासोको अन्त्य हुने विश्वास व्यक्त गरे।
उनका अनुसार अबदेखि अभिमुखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपछि मात्र व्याच हाल्न मिल्ने र व्यक्ति स्वयम् उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागू भएको छ।
यसका लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपहिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आबद्ध भइसकेको हुनुपर्ने छ।
भट्टराईका अनुसार पहिलो चरणमा अभिमुखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आबद्ध गरिएको र आउँदा दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमन प्रणालीसँग
आबद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिने छ। आँखाको रेटिना पढ्ने आइरिस प्रणाली जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थालाई एनआइडी प्रणालीमा जोडिएको हो।
यसरी फेमिस प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणाली अन्तरआबद्ध हुँदा तालिमप्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रूपमा प्राप्त गर्न सकिने, वैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषा, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रापूर्वको तयारी र यात्राका क्रममा पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायबारे जानकारी गराउने काम हुने विश्वास विभागको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार