जर्मनीमा १ हजार ४ सयभन्दा बढी अवैध वेबसाइटहरू बन्द

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

जर्मनीमा १ हजार ४ सयभन्दा बढी अवैध वेबसाइटहरू बन्द
सांकेतिक तस्बिर

काठमाडौं ।

जर्मन अनुसन्धानकर्ता र बैंक निगरानी निकाय बाफिनले पूर्वी युरोपमा साइबर ट्रेडिङ ठगीमा संलग्न करिब १,४०० भन्दा बढी अवैध वेबसाइटहरू (डोमेन) बन्द गरेका छन्। अधिकारीहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।

‘अपरेशन हेरेकल्स’ नाम दिइएको यो अभियान जर्मनीको बाडेन-वुर्टेमबर्ग राज्यको अपराध अनुसन्धान विभाग, बाफिन, युरोपोली र बुल्गेरियाली अधिकारीहरूको सहकार्यमा सञ्चालन गरिएको थियो। यसको उद्देश्य नक्कली ट्रेडिङ खातामार्फत ठगी गर्ने गिरोह र तिनका सहयोगीहरूमाथि नियन्त्रण ल्याउनु रहेको बताइएको छ।

ती वेबसाइटहरूका प्रयोगकर्ताहरूलाई विदेशी कल सेन्टरबाट सञ्चालन हुने तथाकथित ब्रोकरहरूसँग सम्पर्क गराइन्थ्यो, जसले उनीहरूलाई ठूलो रकम लगानी गर्न प्रेरित गर्थे। धेरैजसो पीडितहरूले आफ्नो पैसा लगानी नभई ठगीमा परेको कुरा महिनौँपछि मात्र थाहा पाएको अधिकारीहरूले जनाएका छन्।

“यी अपराधीहरू क्रमशः अझै व्यावसायिक र प्राविधिक रूपमा सशक्त बन्दै गइरहेका छन्,” बाफिनकी बिरगिट रोडोल्फेले भनिन्। “उनीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर अवैध वेबसाइटहरू उत्पादन गर्छन् र त्यसकै माध्यमबाट लगानीकर्ताहरूलाई जालमा फसाउँछन्।”

रोयटर्सका अनुसार यो कारबाही यस वर्ष जूनमा बन्द गरिएका ८०० अवैध वेबसाइटहरूपछि गरिएको अर्को ठूलो कदम हो। ती वेबसाइटहरूमा अहिले पनि २ करोडभन्दा बढी पटक पहुँच प्रयास भएको अधिकारीहरूले जनाएका छन्।

“यी कदमहरूले अपराधीहरूको प्राविधिक संरचना निष्क्रिय पार्दै तिनीहरूको क्षमतामा ठुलो आघात पुर्‍याएको छ,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया