एप्पलविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा

Technology Khabar २६ आश्विन २०८२, आईतवार

काठमाडौं ।

एप्पललाई क्यालिफोर्नियाको संघीय अदालतमा दुई न्युरोसाइन्स विज्ञले मुद्दा हालेका छन्। उनीहरूले कम्पनीले आफ्नै एप्पल इन्टेलिजेन्स नामक कृत्रिम बुद्धिमत्ता मोडेल प्रशिक्षणका लागि हजारौं प्रतिलिपि अधिकारयुक्त पुस्तकको दुरुपयोग गरेको आरोप लगाएका छन्।

ब्रुकलिन, न्युयोर्कस्थित एसयूएनवाइ डाउनस्टेट हेल्थ साइन्सेज युनिभर्सिटीका प्राध्यापक सुजाना मार्टिनेज-कन्डे र स्टिफेन म्याकनिकले बिहीबार अदालतमा दायर सामूहिक मुद्दामा एप्पलले अवैध “स्याडो लाइब्रेरी” मार्फत पाइरेसी गरिएका पुस्तकहरू प्रयोग गरेको दाबी गरेका छन्।

रोयटर्सका अनुसार अर्को लेखक समूहले गत महिना पनि आफ्ना कृतिहरू एआई प्रशिक्षणमा दुरुपयोग गरिएको भन्दै एप्पलविरुद्ध मुद्दा हालेका थिए।

यो मुद्दा ओपनएआई, माइक्रोसफ्ट, र मेटाजस्ता कम्पनीविरुद्ध दायर अन्य उच्चस्तरीय प्रतिलिपि अधिकार विवादहरूमध्ये एक हो। यी मुद्दाहरू लेखक, समाचार संस्था र संगीत कम्पनीहरूले एआई प्रशिक्षणमा आफ्नो सामग्री बिना अनुमति प्रयोग गरिएको भन्दै दायर गरेका हुन्। एनथ्रोपिकले गत अगस्टमा आफ्नै च्याटबोट ‘क्लोड’ प्रशिक्षणसम्बन्धी मुद्दा मिलाउन लेखक समूहलाई १.५ अर्ब डलर तिर्न सहमति जनाएको थियो।

एप्पल, मार्टिनेज-कन्डे र म्याकनिकका तर्फबाट शुक्रबारसम्म नयाँ उजुरीबारे कुनै प्रतिक्रिया आएको थिएन। एप्पल इन्टेलिजेन्स भनेको एआई प्रविधिमा आधारित विशेषता हो, जुन आईफोन र आईप्याडसहितका आईओएस उपकरणहरूमा समावेश गरिएको छ।

मुद्दाअनुसार, “एप्पलले एप्पल इन्टेलिजेन्स सार्वजनिक गरेपछि कम्पनीको मूल्य २०० अर्ब डलरले बढ्यो, जुन कम्पनीको इतिहासमै सबैभन्दा ठूलो वृद्धि थियो,” भनिएको छ। उक्त उजुरीमा एप्पलले हजारौं पाइरेसी गरिएका पुस्तक र इन्टरनेटबाट संकलित अन्य प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामग्री प्रयोग गरेर एआई प्रणाली प्रशिक्षण गरेको आरोप लगाइएको छ।

प्रकाशित: २६ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया