मस्कले ट्विटरका पूर्व कार्यकारीहरूसँगको १२८ मिलियन डलरको मुद्दा मिलाउने

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

अर्बपति इलन मस्कले ट्विटरका पूर्व कार्यकारीहरूसँगको १२८ मिलियन डलरको मुद्दा मिलाउने भएका छन्। मस्कले २०२२ मा कम्पनी अधिग्रहण गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानुनी सल्लाहकार सीन एजेट र विजया गड्डेलाई बर्खास्त गरेका थिए।

ती चारै कार्यकारीले मस्कविरुद्ध मुद्दा दायर गर्दै आफूहरूले पाउनुपर्ने बिदाइ भत्ता नपाएको दावी गरेका थिए। उनीहरूको भनाइ अनुसार मस्कले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता तोड्न खोज्दा उनीहरूले त्यस सम्झौतामा अडिग रहँदा बदला स्वरूप आफूहरूलाई हटाइएको थियो।

मुद्दामा लेखक वाल्टर आइजाक्सनको जीवनी पुस्तकको उद्धरण समेत गरिएको छ, जसमा मस्कले “ट्विटरका शीर्ष अधिकारीहरूलाई मर्ने दिनसम्म समेत पछ्याउने” बताएका थिए। अदालतमा दर्ता गरिएको कागजातले दुवै पक्षबीच समझदारी भएको पुष्टि गरे पनि उक्त समझदारीका शर्तहरू सार्वजनिक नभएको टेकक्रञ्चले उल्लेख गरेको छ।

यी चार कार्यकारी मात्र नभई मस्कविरुद्ध बिदाइ भत्ता नपाएको भन्दै करिब ६ हजार पूर्व ट्विटर कर्मचारीले सामूहिक मुद्दा दायर गरेका थिए। तीमध्ये धेरैले अपूर्ण वा कुनै पनि प्रकारको बिदाइ भत्ता नपाएको गुनासो गरेका थिए।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया