Technology Khabar २३ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
एचएमडीले आफ्नो नयाँ एचएमडी टच फोरजी लन्च गरेको छ। एचएमडीको पछिल्लो डिभाइस पूर्ण रुपमा स्मार्टफोन नभएको तर फिचर फोन भन्दा स्मार्ट भएको हुनाले निर्माताले एक इन–बिट्वीनर वा हाइब्रिडको रुपमा वर्णन गरेको छ। एचएमडी टच फोरजी मूलतः नोकिया आशा सिरिजको पुनर्जन्म भएको बताइएको छ जसले प्रयोगकर्ताहरूलाई क्लाउड–होस्टेड ब्राउजर एपहरू मार्फत केही स्मार्ट सुविधाहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
एचएमडी टच फोरजी अहिलेको लागि भारतीय बजारको लागि मात्र विशेष रुपमा उपलब्ध रहेको र आरटीओएस टच भनिने कस्टम लाइटवेट रियल–टाइम अपरेटिङ सिस्टम (आरटीओएस) चलाउने जनाइएको छ। प्रयोगकर्ताहरूले क्लाउड फोन सेवा चलाउन सक्नेछन् र जसले उनीहरूलाई माथि उल्लिखित ब्राउजर एपहरू पहुँच गर्न अनुमति दिने बताइएको छ। टच फोरजी पहिले देखि नै इन्स्टल गरिएको एक्सप्रेस च्याट एपसँग आउने बताइएको छ जसले टेक्स्ट, भ्वाइस र ईमेज म्यासेजिङलाई समर्थन गर्दछ। टच फोरजी प्रयोगकर्ताहरूले एप स्थापना गरेको अवस्थामा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूसँग पनि च्याट गर्न सक्नेछन्।
स्पेसिफिकेशनको सन्दर्भमा, एचएमडी टच फोरजीले ३२०×२४०पिक्सेल (क्यूभीजीए) रिजोल्युसन भएको ३.२ इन्चको एलसीडी समावेश गरेको छ। डिभाइसमा ०.३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र एलईडी फ्ल्यास सहितको २ मेगापिक्सेलको रियर शूटर पनि रहेको छ।
फोनमा युनिसोक टी१२७ चिपसेट र ६४एमबी र्याम समावेश गरिएको छ। यद्यपि डिभाइसमा केवल १२८ एमबीको इन्टर्नल स्टोरेज रहेको र यसलाई माइक्रोएसडी कार्ड स्लट मार्फत ३२जीबी सम्म विस्तार गर्न सकिने उल्लेख गरिएको छ। डिभाइसमा रहेको १,९५० एमएएच ब्याट्री यूएसबी–सी मार्फत चार्ज हुने उल्लेख गरिएको छ।
टच फोरजीमा आईपी५२ इन्ग्रेस सुरक्षा, ३.५एमएम हेडफोन ज्याकका साथै एफएम रेडियो रिसीभर, ब्लुटुथ ५.० र वाई–फाई (८०२.११एन) कनेक्टिभिटी पनि रहेका छन्। यस डिभाइसले मोबाइल वाई–फाई हटस्पटको रूपमा पनि काम गर्न सक्ने उल्लेख गरिएको छ।
एचएमडी टच फोरजी सायन र गाढा निलो रंगहरूमा उपलब्ध हुनेछ भने डिभाइसको मूल्य ३,९९९ भारतीय रुपैयाँ (४५ अमेरिकी डलर) निर्धारण गरिएको छ। एचएमडी टच फोरजी अब एचएमडी इन्डियामा उपलब्ध हुनुका साथै ढुवानीको लागि तयार भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ आश्विन २०८२, बिहीबार