ट्रम्पको ऊर्जा विभागले जीएम, फोर्ड तथा सयौं स्टार्टअपको अर्बौं अनुदान कटौति गर्ने

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

ट्रम्प प्रशासनअन्तर्गतको ऊर्जा विभाग (डीओई) ले फोर्ड, जनरल मोटर्स (जीएम) र सयौँ स्टार्टअप कम्पनीका लागि उपलब्ध गराइँदै आएको अर्बौँ डलरको अनुदान कटौती गर्ने प्रस्ताव गरेको छ।

आन्तरिक कागजातका आधारमा टेकक्रन्चले गरेको विश्लेषण अनुसार, प्रस्तावित कटौती अन्तर्गत करिब ५० करोड डलरभन्दा बढीका सम्झौता रद्द गरिने तयारी छ, जसले दर्जनौँ स्टार्टअप कम्पनीहरूलाई असर गर्नेछ। यी सबै अनुदान ‘द्विदलीय पूर्वाधार कानून’ अन्तर्गत प्रदान गरिएका थिए। यो निर्णय गत हप्तामात्र ट्रम्प प्रशासनले घोषणा गरेका ७.५ अर्ब डलरभन्दा बढीका अन्य सम्झौताहरू कटौती गर्ने योजनापछि आएको हो।

यी कटौतीहरूबाट केवल स्टार्टअपहरू मात्र नभई अन्य ठूला कम्पनीहरू पनि प्रभावित हुनेछन्। प्रभावित हुने सूचीमा डाइमलर ट्रक्स नर्थ अमेरिका, फोर्ड, जनरल मोटर्स, हार्ले-डेभिडसन, मर्सिडीज-बेन्ज भ्यान्स, स्टेलान्टिस र भोल्भो टेक्नोलोजी अफ अमेरिका पनि परेका रोयटर्सले उल्लेख गरेको छ।

जनरल मोटर्सले मात्र संघीय “डोमेस्टिक म्यानुफ्याक्चरिङ कनभर्जन ग्रान्ट” कार्यक्रमअन्तर्गत प्राप्त कम्तीमा ५० करोड डलर गुमाउनेछ। यो रकम मिशिगनको ल्यान्सिङ ग्रान्ड रिभर एसेम्ब्ली प्लान्ट पुनःनिर्माणका लागि प्रयोग गरिँदै थियो। जीएमले जुलाई २०२४ मा उक्त प्लान्टमा हाइब्रिडसहितका विद्युतीय सवारी उत्पादन गर्ने योजना घोषणा गरेको थियो।

कुनैकुनै स्टार्टअपका लागि यी अनुदानहरू अत्यन्त महत्वपूर्ण थिए र कटौती भएमा तिनीहरूको सञ्चालनमा प्रत्यक्ष असर पर्नेछ। केही कम्पनीहरूबारे गत हप्ताको लीक सूचीमा पनि उल्लेख थियो, तर धेरै नयाँ नामहरू अहिले पहिलोपटक सार्वजनिक भएका छन्।

सबैभन्दा ठूला दुई अनुदानमध्ये एक, ब्रिमस्टोन नामक सामग्री स्टार्टअपलाई दिइएको १८.९ करोड डलर हो, जसले कम कार्बन डाइअक्साइड प्रयोग गरी पोर्टल्यान्ड सिमेन्ट र एल्युमिना उत्पादन गर्ने कारखाना बनाउन सहयोग गर्ने योजना थियो।

अर्को ठूलो अनुदान एनाभियन नामक शिकागोस्थित स्टार्टअपलाई दिइएको थियो, जसले लिथियम-आयन ब्याट्रीका लागि घरेलु कृत्रिम ग्राफाइट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ। हाल ग्राफाइट बजारमा चिनियाँ कम्पनीहरूको वर्चस्व रहेको छ।

ब्याट्री सामग्री स्टार्टअप ‘लाई इन्डस्ट्रिज’ ले पनि चीनमाथिको निर्भरता घटाउने उद्देश्यले एलएफपी ब्याट्री पुनःप्रयोग गर्ने परियोजनाका लागि ५५.२ मिलियन डलरको अनुदान प्राप्त गरेको थियो।

त्यसैगरी, अन्य सिमेन्ट स्टार्टअपहरू पनि कटौती सूचीमा परेका छन्। म्यासाचुसेट्सस्थित ‘सब्लाइम सिस्टम्स’ लाई अत्यन्त कम कार्बनयुक्त सिमेन्ट प्लान्ट बनाउनका लागि ८६.९ मिलियन डलर र क्यालिफोर्नियाको माउन्टेन भ्युभेस्थित ‘फर्नो’ लाई शिकागोमा डेमो प्लान्ट बनाउनका लागि २० मिलियन डलर अनुदान दिइएको थियो।

घर तथा व्यावसायिक भवनका लागि इन्सुलेसन सामग्री बनाउने ‘क्लिनफाइबर’ र ‘हेम्पिटेक्चर’ ले क्रमशः १० मिलियन र ८.४ मिलियन डलर गुमाउने जोखिममा छन्। ‘स्काइभेन टेक्नोलोजिज’ (औद्योगिक हीट पम्प निर्माता) र ‘लक्सवाल’ (सुपर-इन्सुलेटेड विन्डो निर्माता) ले क्रमशः १५ मिलियन र ३१ मिलियन डलर गुमाउने सम्भावना छ।

ऊर्जा र एआई क्षेत्रमा अग्रता कायम गर्ने लक्ष्यसँग विपरीत देखिने कम्तीमा एक कटौती पनि प्रस्ताव गरिएको छ। ‘टीएस कन्डक्टर’ ले २८.२ मिलियन डलरको अनुदान गुमाउन सक्छ।

यो कम्पनीले विद्युतीय लाइनका लागि यस्ता कन्डक्टर बनाउँछ, जसले हालका ट्रान्समिसन लाइनको क्षमता दोब्बर वा तेब्बर बनाउन सक्छ। यसले ग्रिडका बोतलनेक्स घटाउन र डाटा सेन्टरहरूलाई छिट्टै बिजुली आपूर्ति पाउने सम्भावना बढाउन सक्थ्यो।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया