Technology Khabar २२ आश्विन २०८२, बुधबार
काठमाडौं ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग लिखित बयान लिएको छ।
उनीमाथि साइबर अपराधको कसुरको उजुरी परेकाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले उनको बयान लिएको हो। बयानका लागि बस्नेत स्वयं उपस्थित भएका थिए। उनले ब्युरोमा लगभग डेढ घण्टा लिखित बयान दिएको ब्युरो स्रोतले जनाएको छ।
के के विषयमा के कस्ता प्रश्नको जवाफ मागिएको थियो भन्ने प्रश्नमा ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले यो सबै कुरा तत्काल खुलाउन नमिल्ने र आफूहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट भएको निर्देशन अनुरुप नै कार्यालयले चाहेको जानकारी आउनेगरी कार्यालयले नै बनाएको प्रश्नहरुको लिखित जवाफ लिइएको बताए।
‘उहाँ अदालतको आदेश अनुसार बयान दिन आउनुभएको हो र सरकारी वकिलको कार्यालयको निर्देशन अनुरुपकै लिखित बयान दिएर निस्किसक्नुभएको छ, प्रवक्ता अवस्थीले टेक्नोलोजीखबरलाई बताए।
केही समयअघि आपत्तिजनक अडियो रेकर्ड बाहिरिएको र त्यसमा पीडित भनिएकी शोभा पाठकले बस्नेतविरुद्ध साइबर अपराधको उजुरी दिएकी थिइन्।
पाठकले यसअघि दिएको उजुरीमाथि एमालेको सरकार भएका कारण राजनैतिक शक्तिका आधारमा सुनुवाई नभएको भन्दै हिजो सामाजिक सञ्जालमा बस्नेतमाथिकाो उजुरीमा सुनुवाई नहुञ्जेल ब्युरोमै धर्ना बस्ने आशयको भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।
प्रहरीले उजुरीमाथि सुनुवाई शुरु नगरेका कारण केही दिनअघि केही दिन अघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुरुप बस्नेतलाई बोलाइएको र लिखित बयान लिइएको ब्युरवको भनाई छ।
जिल्ला सरकारी वकिलको कार्यालयले तोकेका लिखित बयानसहित विशेष तीनओटा काम सकिएपछि ब्युरोले अन्तिम प्रतिवेदन बुझाउने भएको छ।
प्रकाशित: २२ आश्विन २०८२, बुधबार