गुगलको एआई भाइब-कोडिङ एप ‘ओपल’ थप १५ देशमा विस्तार

Technology Khabar २२ आश्विन २०८२, बुधबार

काठमाडौं ।

गुगलले आफ्नो एआई भाइब-कोडिङ एप ‘ओपल’ १५ थप देशमा विस्तार गरेको छ। यो एप प्रयोगकर्ताले टेक्स्ट प्रम्प्ट प्रयोग गरेर साना वेब एप बनाउन सक्ने गरी डिजाइन गरिएको हो।

अब यो एप क्यानडा, भारत, जापान, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, ब्राजिल, सिंगापुर, कोलम्बिया, एल साल्भाडोर, कोस्टारिका, पनामा, हन्डुरस, अर्जेन्टिना र पाकिस्तानमा पनि उपलब्ध भएको छ।

“जब हामीले अमेरिकामा ओपल प्रयोगका लागि खुला गर्‍यौं, हामीले प्रयोगकर्ताले सरल र रमाइला उपकरण बनाउने अपेक्षा गरेका थियौं,” गुगल ल्याब्सकी वरिष्ठ उत्पादन प्रबन्धक मेगन लीले ब्लगपोस्टमार्फत भनेकी छिन्।

“तर हाम्रो अपेक्षाभन्दा धेरै उन्नत, उपयोगी र अत्यन्त सिर्जनात्मक ओपल एपहरू बने। ती प्रारम्भिक प्रयोगकर्ताको सृजनशीलताले हामीलाई देखायो—हामीले ओपललाई विश्वभरका थप सिर्जनाकर्तासम्म पुर्‍याउनुपर्छ।”

रोयटर्सका अनुसार ओपलमा प्रयोगकर्ताले आफू बनाउन चाहेको एपको विवरण लेखेपछि, विभिन्न गुगल मोडेलहरूले सो एप तयार गर्छन्। एप तयार भएपछि प्रयोगकर्ताले एडिटर प्यानल खोलेर इनपुट, आउटपुट र जेनेरेसन स्टेपहरूको दृश्य कार्यप्रवाह हेर्न र परिमार्जन गर्न सक्छन्।

उनीहरूले कुनै पनि चरणमा क्लिक गरेर प्रम्प्ट सम्पादन गर्न वा नयाँ चरण थप गर्न सक्छन्। प्रयोगकर्ताले आफ्नो एप वेबमा प्रकाशित गरेर अन्यलाई पनि आफ्नो गुगल खातामार्फत परीक्षण गर्न लिंक साझेदारी गर्न सक्छन्।

विस्तारसँगै गुगलले ओपलमा केही सुधार पनि गरेको छ।
कम्पनीका अनुसार डिबगिङ प्रणाली सुधारिएको छ, तर यो अझै नो-कोड नै राखिएको छ। प्रयोगकर्ताले अब भिजुअल एडिटरमा हरेक चरण क्रमशः चलाउन वा कन्सोलमा विशेष चरण परिमार्जन गर्न सक्छन्। गल्तीहरू देखिने ठाउँमै देखाइन्छन्, जसले तत्काल सन्दर्भ दिन्छ र अनुमान गर्नुपर्ने झन्झट हटाउँछ।

गुगलले ओपलको मूल प्रदर्शन पनि सुधारिएको जनाएको छ। पहिले नयाँ ओपल बनाउन पाँच सेकेन्ड वा बढी समय लाग्थ्यो, तर अब यो प्रक्रिया छिटो बनाइएको छ। साथै, प्रयोगकर्ताले अब धेरै चरणहरू एकसाथ चलाउन सक्ने भएकाले जटिल कार्यप्रवाहहरू छिटो सम्पन्न हुन्छन्।

अमेरिकामा गत जुलाईमा ओपल सार्वजनिक गर्दै गुगलले आफूलाई क्यान्भा, फिग्मा र रेप्लिटजस्ता कम्पनीहरूको सूचीमा थपेको हो, जसले प्राविधिक ज्ञान नभएका प्रयोगकर्तालाई कोड नलेखी एपको नमूना डिजाइन गर्न सहयोग गर्ने उपकरणहरू बनाइरहेका छन्।

प्रकाशित: २२ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया