Technology Khabar २२ आश्विन २०८२, बुधबार
काठमाडौं ।
अर्बपति इलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईका नयाँ वित्त प्रमुख (सीएफओ) का रूपमा पूर्व मोर्गन स्ट्यान्ली बैंकर एन्टोनी आर्मस्ट्रङलाई नियुक्त गरेका छन्। उनले मस्कलाई एक्स (पहिलेको ट्विटर) खरिदमा सल्लाह दिएका फाइनान्सियल टाइम्सले सोमबार जनाएको छ।
रिपोर्टअनुसार आर्मस्ट्रङले अब एक्सएआई र सामाजिक सञ्जाल प्लेटफर्म एक्स दुवैको वित्तीय व्यवस्थापनको नेतृत्व गर्नेछन्। अनुभवी सम्झौता विशेषज्ञ आर्मस्ट्रङ पछिल्ला केही हप्तादेखि एक्सएआईसँग काम गरिरहेका थिए र हालसालै औपचारिक रूपमा वित्त प्रमुख नियुक्त भएका रोयटर्सले उल्लेख गरेको छ।
एक्सएआई र एक्स दुवै संस्थाले रोयटर्सको टिप्पणी अनुरोधमा तुरुन्त प्रतिक्रिया जनाएका छैनन्। आर्मस्ट्रङसँग पनि तत्काल सम्पर्क हुन सकेको छैन।
मस्कले २०२३ मा एक्सएआई स्थापना गरेका थिए जसको उद्देश्य ठूला प्रविधि कम्पनीहरूको एआई प्रभुत्वलाई चुनौती दिनु थियो। उनले उद्योगका अग्रणी कम्पनीहरूलाई अत्यधिक सेन्सरशिप र कमजोर सुरक्षा मापदण्डको आरोप लगाएका थिए।
आर्मस्ट्रङले सामाजिक सञ्जाल व्यवसायलाई पुनः वित्तीय स्थायित्वमा फर्काउने जिम्मेवारी पनि लिनेछन्, किनकि मस्कले सामग्री नियमन सहज बनाएपछि विज्ञापनदाताहरू पलायन भएका थिए।
मोर्गन स्ट्यान्लीका ग्लोबल टेक एमएन्डए प्रमुखको रूपमा आर्मस्ट्रङ २०२२ मा मस्कले ट्विटर खरिद गर्न ४४ अर्ब डलरको सम्झौता तयारीका क्रममा बनाएको टोलीमा थिए। त्यस क्रममा मस्क र आर्मस्ट्रङबीच घनिष्ठ सम्बन्ध विकसित भएको रिपोर्टमा जनाइएको छ।
यस वर्षको सुरुवातमा आर्मस्ट्रङले वाशिङटनस्थित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ मा मस्कको प्रतिनिधित्वमा ‘अफिस अफ पर्सोनेल म्यानेजमेन्ट’ हेरेका थिए।
आर्मस्ट्रङले यस वर्ष मस्कको आन्तरिक सर्कलसँग कम्पनीको संरचना र वित्तीय लक्ष्यबारे मतभेद भएपछि राजीनामा दिएका माइक लिबेराटोरलाई प्रतिस्थापन गर्नेछन्। आर्मस्ट्रङको एक्स प्रोफाइलमा अहिले उनको नामसँगै एक्सएआई लोगो देखिन्छ, जसले उनको नयाँ भूमिका पुष्टि गर्छ।
उनको नियुक्ति हालै बढेका कार्यकारी स्तरका राजीनामाबीच आएको हो। जुलाईमा एक्सकी सीईओ लिन्डा याकरिनोले राजीनामा दिएकी थिइन्, र गर्मी याममा एक्सएआई का लिबेराटोर र कानूनी सल्लाहकार रोबर्ट किल पनि कम्पनी छोडेका थिए।
यसबाहेक, एक्स का वित्त प्रमुख महमूद रेजा बैंकिले पनि करिब एक वर्षमै पद छोडेका थिए, फाइनान्सियल टाइम्सले जनाएको छ।
रिपोर्टअनुसार एक्सएआई हाल नयाँ लगानी चरणबारे छलफलमा रहेको छ र योपछि कम्पनीको मूल्य करिब २०० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने बताइएको छ। लगानी सम्झौता भने अझै अन्तिम भइसकेको छैन।
प्रकाशित: २२ आश्विन २०८२, बुधबार