स्मार्टफोन उपभोक्ताहरूले हाले क्वालकमविरुद्ध ४८० मिलियन पाउण्डको मुद्दा

Technology Khabar २२ आश्विन २०८२, बुधबार

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले लन्डनमा ४८० मिलियन पाउण्ड (६४६.८ मिलियन अमेरिकी डलर) बराबरको मुद्दा सामना गर्नुपरेको छ। यो मुद्दा स्मार्टफोन उपभोक्ताहरूको तर्फबाट दायर गरिएको हो, जसमा क्वालकमले आफ्नो एकछत्र प्रभाव प्रयोग गरेर एप्पल र सामसङलाई अत्यधिक रोयल्टी तिर्न बाध्य बनाएको आरोप लगाइएको छ।

यो मुद्दा ब्रिटिश उपभोक्ता संस्थाले दायर गरेको हो। संस्थाका कानूनी प्रतिनिधिहरूका अनुसार २०१५ पछि आइफोन वा सामसङ फोन खरिद गरेका करिब २९ मिलियन उपभोक्ता क्षतिपूर्ति पाउन योग्य रहेको रोयटर्सले उल्लेख गरेको छ।

मुद्दामा क्वालकमले आफ्नो विश्वव्यापी ‘नो लाइसेन्स, नो चिप्स’ नीतिअन्तर्गत कुनै उपकरणमा क्वालकमका चिप प्रयोग नभए पनि निर्माताहरूलाई बढी रोयल्टी तिर्न बाध्य बनाएको उल्लेख छ।

सोमबारदेखि सुरु हुने पाँच हप्ते सुनुवाइका लागि तयार पारिएका अदालती कागजातमा उजुरीकर्तातर्फका वकिलहरूले लेखेका छन्, “यो नीतिले उद्योगभर लागू हुने निजी करझैं काम गर्छ, जसले क्वालकमको नाफा बढाउँछ र उपकरणहरूको मूल्य महँगो बनाउँछ।”

तर क्वालकमका वकिलहरूले मुद्दामा लगाइएका आरोप अस्वीकार गर्दै कम्पनीले लामो समयदेखि आफ्नो ‘स्ट्यान्डर्ड इसेन्सियल पेटेन्ट’का लागि निर्माताले लाइसेन्स लिनुपर्ने नीति मात्र लागू गरेको भनेको छ।

क्वालकमका कानूनी प्रतिनिधिहरूले कम्पनीले एप्पल र सामसङजस्ता ठूला कम्पनीहरू आफैंसँग ठूलो क्रयशक्ति रहेका कारण यिनीहरुबाट मनलाग्दी रोयल्टी असुल गर्न सक्छ भन्ने दावी पनि अस्वीकार गरेका छन्।”

लन्डनको कम्पिटिशन अपिल ट्राइब्युनलमा दायर गरिएको यो मुद्दाले क्वालकमले उपभोक्ता वर्गप्रति कानूनी जिम्मेवारी राख्छ कि राख्दैन भन्ने निर्धारण गर्नेछ। यदि उजुरीकर्ता सफल भएमा भने क्षतिपूर्तिको रकम तोक्न अर्को सुनुवाइ हुनेछ।

एप्पल र अन्य निर्मातासँगको पेटेन्ट लाइसेन्स र एक्सक्लुसिभ सम्झौताहरूलाई चुनौती दिइएको क्वालकमविरुद्ध अमेरिकाको क्यालिफोर्नियामा उपभोक्ताहरूले दायर गरेको जस्तै मुद्दा सन् २०२३ मा खारेज गरिएको थियो।

प्रकाशित: २२ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया