‘बायोकम्प्युटिङ’ को क्षेत्रमा नयाँ उपलब्धि: वैज्ञानिकहरुले विकास गरे कम्प्युटर सञ्चालन गर्न साना मानव मस्तिष्कहरू

Technology Khabar २२ आश्विन २०८२, बुधबार

काठमाडौं ।

वैज्ञानिकहरूले कम्प्युटर सञ्चालन गर्न साना मानव मस्तिष्कहरू विकास गरेका छन्। यो कुरा सुन्दा विज्ञानकथाजस्तै लागे पनि केही अनुसन्धानकर्ताहरूले जीवित कोषहरूबाट कम्प्युटर बनाउने प्रयासमा वास्तविक प्रगति गरेका छन्।

यो नै ‘बायोकम्प्युटिङ’को अचम्मलाग्दो संसार हो। बीबीसीका अनुसार, स्विट्जरल्यान्डका वैज्ञानिकहरूको एक समूह यस क्षेत्रमा अग्रणी रूपमा काम गरिरहेको टेलिग्राफले जनाएको छ।

फाइनलस्पार्क नामक प्रयोगशालाका सह-संस्थापक डाक्टर फ्रेड जोर्डनका अनुसार भविष्यमा हामी ‘जीवित’ सर्वरहरूले भरिएका डाटा सेन्टरहरू देख्न सक्छौं, जसले एआई सिक्ने प्रक्रिया जस्तै काम गर्नेछन् र हाल प्रयोग भइरहेका प्रविधिहरूभन्दा कम ऊर्जा प्रयोग गर्नेछन्।

हामी अहिले प्रयोग गरिरहेका कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर हुन्छ। तर डा. जोर्डन र उनका सहकर्मीहरूले आफूहरूले विकास गरिरहेको प्रणालीलाई “वाटरवेयर” भन्छन्। यसको अर्थ, न्युरोनहरूलाई विकास गराएर “अर्गानोइड” भनिने साना समूह बनाइन्छ, जसलाई इलेक्ट्रोडसँग जोडेर साना कम्प्युटरको रूपमा प्रयोग गर्न सकिन्छ।

डा. जोर्डनका अनुसार, धेरै मानिसका लागि बायोकम्प्युटिङको अवधारणा अस्वाभाविक लाग्न सक्छ। उनले भने, “विज्ञानकथामा मानिसहरू यस्ता विचारसँग पहिले नै परिचित छन्। जब तपाईं भन्नुहुन्छ कि म न्युरोनलाई सानो मेशिनको रूपमा प्रयोग गर्न गइरहेको छु, तब तपाईंको मस्तिष्कबारे दृष्टिकोण नै फरक हुन्छ र आफू को हौं भन्ने प्रश्न उठ्छ।”

फाइनलस्पार्कले यो प्रक्रिया मानव छालाको कोषबाट प्राप्त स्टेम सेलहरूद्वारा सुरु गर्छ, जुन उनीहरूले जापानको एक क्लिनिकबाट खरिद गर्छन्। दाताहरू गोप्य राखिन्छन्।

“हामीसँग धेरै प्रस्ताव आउँछन्, तर हामी केवल आधिकारिक आपूर्तिकर्ताबाट आएको स्टेम सेलहरू मात्र प्रयोग गर्छौं, किनभने गुणस्तर अत्यावश्यक हुन्छ,” उनले भने।

प्रयोगशालामा, फाइनलस्पार्ककी जीवविज्ञानी डा. फ्लोरा ब्रोज्जीले साना सेता गोलाकार वस्तुहरू भएको कन्टेनर देखाइन्। ती प्रत्येक साना गोलाहरू जीवित स्टेम सेलहरूबाट बनेका सूक्ष्म “मिनी-ब्रेन” हुन्, जसमा न्युरोन र सहायक कोषहरू विकसित भएका हुन्छन्। यी मानवीय मस्तिष्कजस्ता जटिल त छैनन्, तर आधारभूत संरचना एउटै रहेको टेलिग्राफले उल्लेख गरेको छ।

केही महिनासम्म चल्ने प्रक्रियापछि यी अर्गानोइडहरू इलेक्ट्रोडसँग जोडिन्छन् र साधारण किबोर्ड कमाण्डहरूमा प्रतिक्रिया दिन सक्षम बनाइन्छ। बटन थिच्दा विद्युत संकेत पठाइन्छ, र यदि सफल भयो भने, स्क्रिनमा मस्तिष्क-जस्तो गतिविधिको सानो ग्राफ देखिन्छ।

तर डा. जोर्डनका अनुसार, वैज्ञानिकहरू अझै पनि यी अर्गानोइडहरूले वास्तवमा के गर्छन् र किन गर्छन् भन्ने कुरा पूर्ण रूपमा बुझ्न सकेका छैनन्। अहिलेको प्रयास तिनीहरूलाई सिक्ने र काम गर्न सक्षम बनाउनतर्फको पहिलो कदम हो।

“कृत्रिम बुद्धिमत्तामा पनि कुरा उस्तै हुन्छ। तपाईंले डाटा दिनुहुन्छ र त्यसबाट प्रयोग गर्न मिल्ने नतिजा चाहनुहुन्छ। जस्तै, तपाईंले बिरालोको तस्बिर दिनुभयो भने, नतिजाले यो बिरालो हो भनेर देखाउनुपर्छ,” उनले भने।

तर बायोकम्प्युटरलाई कसरी निरन्तर सञ्चालनमा राख्ने भन्ने कुरा अझै स्पष्ट छैन। “अर्गानोइडमा रगतका नली हुँदैनन्,” लन्डनस्थित इम्पेरियल कलेजका न्युरोटेक्नोलोजीका प्राध्यापक साइमन शुल्ट्जले भने। “मानव मस्तिष्कमा धेरै तहमा रगतका नलीहरू हुन्छन्, जसले पोषण पुर्‍याएर मस्तिष्कलाई सक्रिय राख्छ। हामी अझै त्यो प्रक्रिया दोहोर्याउन सक्षम भएका छैनौं। यही सबैभन्दा ठूलो चुनौती हो,” उनले थपे।

फाइनलस्पार्कले पछिल्ला चार वर्षमा केही प्रगति गरेको छ। अहिले अर्गानोइडहरू करिब चार महिनासम्म जीवित रहन सक्छन्। तर कहिलेकाहीँ ती मर्नुअघि अचानक तीव्र गतिविधि देखिन्छ — ठीक त्यस्तै, जसरी केही मानिसहरूको मृत्युअघि मुटु र मस्तिष्क सक्रियता बढ्ने देखिन्छ।

“केही घटनामा हामीले जीवनका अन्तिम केही सेकेन्ड वा मिनेटहरूमा अत्यधिक गतिविधि देखेका छौँ,” डा. जोर्डनले भने। “पछिल्ला पाँच वर्षमा हामीले यस्ता करिब १,००० देखि २,००० मृत्यु रेकर्ड गरेका छौं। यो दुखद हुन्छ, किनभने हामीले प्रयोग रोकेर त्यसको कारण बुझ्नुपर्छ र फेरि सुरु गर्नुपर्छ,” उनले भने।

प्रकाशित: २२ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया