क्यालिफोर्नियाको नियामक निकायद्वारा टेस्लाको बीमा शाखामाथि ‘अत्यधिक ढिलाइ’ र ‘प्रणालीगत असफलता’को आरोप

Technology Khabar २० आश्विन २०८२, सोमबार

काठमाडौं ।

क्यालिफोर्नियाको बीमा विभाग (सीडीआई) ले टेस्लाको बीमा शाखामाथि गम्भीर आरोप लगाउँदै कानुनी कारबाही सुरु गरेको छ। विभागका अनुसार टेस्ला र यसको साझेदार स्टेट नेशनल इन्स्योरेन्स कम्पनीले ग्राहकका दावीहरूलाई वर्षौँदेखि अनावश्यक रूपमा ढिलाइ वा अस्वीकार गर्दै आएका छन्, जसका कारण बीमित ग्राहकहरूलाई आर्थिक क्षति र मानसिक तनाव पुगेको छ।

सीडीआईले दायर गरेको नयाँ दस्तावेजमा भनिएको छ, “टेस्ला कम्पनीहरूले बीमा दावी प्रक्रिया सबै चरणमा अत्यधिक ढिलाइ गरेको, अनुचित रूपमा दाबी अस्वीकार गरेको र नियमन उल्लङ्घन गरेको पाइएको छ।”

विभागले पहिलोपटक २०२२ मा टेस्लालाई यी समस्याबारे सचेत गराएको थियो, तर स्थिति झनै बिग्रिएको जनाएको छ। दस्तावेजमा उल्लेख छ, “२०२५ मा मात्र टेस्ला कम्पनीहरूमाथि अघिल्ला तीन वर्षको तुलनामा बढी उजुरी, बढी प्रमाणित उजुरी र बढी उल्लङ्घनहरू दर्ता भएका छन्।”

कानुनअनुसार टेस्ला र स्टेट नेशनलले प्रत्येक “अवैध, अनुचित वा भ्रामक कार्य” का लागि ५,००० डलरसम्म र “जानबुझेर गरिएको उल्लङ्घन” का लागि १०,००० डलरसम्म जरिवाना भोग्नुपर्ने हुन सक्छ। दुवै कम्पनीलाई १५ दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ।

यो कारबाहीले टेस्लाका लागि थप कानुनी जोखिम निम्त्याउन सक्छ। यसअघि जुलाईमा कम्पनीमाथि सामूहिक मुकदमा दर्ता गरिएको थियो, जसमा दाबी गरिएको थियो कि टेस्लाले जानाजानी दाबी भुक्तानीमा ढिलाइ र न्यूनकरण गरेको हो। सीडीआईले टेस्लाको व्यवहारले “तेस्रो पक्षका दावीहरूका लागि सम्भावित कानुनी जोखिम” पनि सिर्जना गरेको शुक्रबार बताएको छ। टेस्ला र स्टेट नेशनलले यसबारे कुनै टिप्पणी गरेका छैनन्।

टेकक्रञ्चका अनुसार टेस्लाले आफ्नै बीमा सेवा सन् २०१९ मा सुरु गरेको थियो, जसको उद्देश्य सस्तो प्रिमियम र छिटो सेवा उपलब्ध गराउनु थियो। तर सुरुवातमै वेबसाइट पटक–पटक बिग्रने, र काम गर्दा पनि अपेक्षा भन्दा धेरै महँगो दर देखाउने समस्या आएको थियो। त्यसबेला इलन मस्कले यसलाई “क्रान्तिकारी सेवा” हुने बताएका थिए।

तर सीडीआईका अनुसार, सुरु भएको तीन वर्षमै टेस्लाविरुद्ध बीमा दावीसम्बन्धी उजुरीहरू तीव्र रूपमा बढे। त्यसपछि २०२२ डिसेम्बरमा सीडीआई ले टेस्ला र स्टेट नेशनलसँग बैठकहरू गर्न थाल्यो। टेस्लाको “हेड अफ क्लेम्स” पद महिनौँदेखि खाली थियो र कम्पनीहरूले दावी प्रक्रियाका समस्याबारे रिपोर्ट गर्न समेत असफल भएका विभागले पत्ता लगाएको थियो।

त्यसपछि सीडीआईले दुवै कम्पनीलाई एक प्रकारको निगरानी अवधिमा राख्यो। ६ महिनासम्म उनीहरूले सुधारका प्रयासहरू गरेको अवलोकन गरियो। टेस्ला र स्टेट नेशनलले बीमा दावीको संख्यालाई गलत अनुमान गरेको र कर्मचारी संख्या अपर्याप्त रहेको स्वीकार गर्दै थप जनशक्ति भर्ना गर्ने वाचा गरेका थिए।

टेस्लाले २०२३ अप्रिलमा मात्र नयाँ “हेड अफ क्लेम्स” नियुक्त गर्न सफल भयो। त्यसपछि बाँकी वर्षमा कम्पनीहरूले दाबी प्रक्रिया र ग्राहक उजुरी समाधानमा केही सुधार भएको रिपोर्ट गरे पनि, नियामकका अनुसार समस्या अझै समाप्त भएको छैन।

प्रकाशित: २० आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया