दक्षिण कोरियामा हरेक महिनाजसो साइबर आक्रमण: डिजिटल सुरक्षाबारे शंका बढ्दै

Technology Khabar २० आश्विन २०८२, सोमबार

दक्षिण कोरियामा हरेक महिनाजसो साइबर आक्रमण: डिजिटल सुरक्षाबारे शंका बढ्दै
एआईको सहयोगमा तयार पारिएको तस्वीर।

काठमाडौं ।

विश्वकै तीव्र गतिको इन्टरनेट, व्यापक ब्रडब्यान्ड पहुँच र हुन्डाइ, एलजी र सामसङजस्ता विश्वप्रसिद्ध प्रविधि ब्रान्डहरूका लागि परिचित दक्षिण कोरिया अहिले निरन्तर साइबर आक्रमणको निसानामा परेको छ।

प्रविधि क्षेत्रमा अग्रणी मानिने यो देशको यही सफलताले यसको साइबर सुरक्षा प्रणालीको कमजोरी उजागर गरेको देखिन्छ।

हालैका महिनाहरूमा क्रेडिट कार्ड कम्पनी, टेलिकम, टेक स्टार्टअप र सरकारी निकायहरूमा भएका ठूला ह्याकिङ घटनाले लाखौँ दक्षिण कोरियाली नागरिक प्रभावित भएका छन्। यस्ता घटनामा मन्त्रालय र नियामक निकायहरूबीच समन्वयको कमी देखिँदै आएको छ—कहिलेकाहीँ एकअर्कालाई जिम्मेवारी सुम्पँदै ढिलाइ गर्ने गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्लेषकहरूका अनुसार, दक्षिण कोरियाको साइबर सुरक्षा प्रणाली धेरै मन्त्रालय र एजेन्सीहरूमा विभाजित भएकाले प्रतिक्रिया ढिलो र असंगठित हुने गरेको छ। कुनै पनि आक्रमणपछि “पहिलो प्रतिक्रियादाता” को रूपमा स्पष्ट जिम्मेवारी हुने निकाय नभएकाले देशको डिजिटल सुरक्षा लक्ष्यसँग तालमेल मिलाउन गाह्रो भएको छ।

“सरकारको साइबर सुरक्षाप्रति दृष्टिकोण अझै पनि प्रतिक्रियात्मक छ, जसलाई राष्ट्रिय पूर्वाधारको हिस्सा भन्दा संकट व्यवस्थापनको विषयका रूपमा लिइन्छ,” सियोलस्थित साइबर सुरक्षा कम्पनी थियोरी का प्रमुख कार्यकारी ब्रायन पाकले टेकक्रञ्च सँग भने।

एसके टेलिकमका साइबर सुरक्षा नवप्रवर्तन समितिका सल्लाहकार समेत रहेका पाकका अनुसार, “सरकारी निकायहरू छुट्टाछुट्टै रूपमा काम गर्ने भएकाले डिजिटल सुरक्षा विकास र दक्ष जनशक्ति तालिममा आवश्यक ध्यान पुगिरहेको छैन।”

दक्षिण कोरियामा दक्ष साइबर सुरक्षा विज्ञहरूको पनि गम्भीर अभाव रहेको उनले बताए। “यो अभावको मुख्य कारण अहिलेको नीति हो, जसले जनशक्ति विकास रोकिरहेको छ। विशेषज्ञको कमीले एउटा खराब चक्र बनाएको छ—दक्ष जनशक्ति बिना जोखिमहरूभन्दा अघि रहन आवश्यक सुरक्षात्मक प्रणाली बनाउन असम्भव हुन्छ,” उनले भने।

पाकका अनुसार, राजनीतिक गतिरोधका कारण हरेक संकटपछि तत्कालीन “छिटो समाधान” खोज्ने प्रवृत्ति बढेको छ, जसले दीर्घकालीन डिजिटल स्थायित्वका प्रयासलाई पन्छ्याएको छ।

यो वर्ष मात्र दक्षिण कोरियामा करिब प्रत्येक महिनामा ठूलो साइबर सुरक्षा घटना भएको छ, जसले देशको डिजिटल पूर्वाधार कति कमजोर छ भन्नेबारे थप चिन्ता बढाएको टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: २० आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया