उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूले स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने

Technology Khabar २० आश्विन २०८२, सोमबार

काठमाडौं ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शुक्रबार हस्ताक्षर गरेको नयाँ कानुनले अब उबर र लिफ्टजस्ता राइड–हेलिङ एपका चालकहरूलाई स्वतन्त्र ठेकेदारको रूपमा युनियन बनाउन पाउने अधिकार दिने भएको छ।

यो कानुन सांसदहरू, श्रमिक संगठनहरू र राइड–हेलिङ कम्पनीहरूबीच भएको ठूला सम्झौतामा आधारित हो। सो सम्झौताअन्तर्गत उबर र लिफ्टका लागि बीमा सम्बन्धी न्यूनतम मापदण्ड घटाउने र चालकहरूलाई युनियन अधिकार दिने छुट्टा छुट्टै विधेयक पारित भएका छन्।

यो सम्झौता गत अगस्टमा घोषणा हुँदा न्युजमले यसलाई “कामदार र व्यवसायबीचको ऐतिहासिक सम्झौता, जुन केवल क्यालिफोर्नियाले सम्भव बनाउन सक्छ,” भनेर वर्णन गरेका थिए।

एसोसिएटेड प्रेस का अनुसार, यस नयाँ कानुनबाट ८ लाखभन्दा बढी चालकले युनियनमा सामेल हुने र राम्रो पारिश्रमिक तथा सुविधाका लागि सामूहिक रूपमा बार्गेनिङ गर्ने अधिकार पाउनेछन्।

उबरकी क्यालिफोर्निया सार्वजनिक नीतिका प्रमुख रामोना प्रिएटोले एपी लाई पठाएको विज्ञप्तिमा भनेका छन्, “यी दुई विधेयकले यात्रुका लागत घटाउने र चालकका आवाजलाई अझ सबल बनाउने सम्झौताको प्रतिनिधित्व गर्छन्।”

गत वर्ष म्यासाचुसेट्सका मतदाताहरूले पनि राइड–हेलिङ चालकहरूलाई युनियन अधिकार दिने प्रस्ताव पारित गरेका टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: २० आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया