ओपनएआईले पनि एआईमा आधारित छोटा भिडियो सेयरिङ एप ल्याउने

Technology Khabar १७ आश्विन २०८२, शुक्रबार

ओपनएआईले पनि एआईमा आधारित छोटा भिडियो सेयरिङ एप ल्याउने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

ओपनएआईले पनि छोटा भिडियो सेयरिङ एप ल्याउने भएको छ। यो एप टिक टक जस्तै देखिने र यसमा भर्टिकल भिडियो स्ट्रिम र स्वाइप गरेर स्क्रोल गर्ने सुविधा हुने बताइएको छ। तर यो एपमा प्रयोगकर्ताले आफ्ना मोबाइलबाट फोटो वा भिडियो अपलोड गर्न सक्ने छैनन्। यहाँ सिर्जना हुने सम्पूर्ण सामग्री कृत्रिम बुद्धिमत्ताद्वारा मात्र तयार हुनेछ।

ओपनएआईले सोरा २ लाई एपभित्र प्रयोग गर्नका लागि अधिकतम १० सेकेन्डसम्मका भिडियो बनाउन सीमित गर्नेछ। तर एपबाहिर यस मोडलको सीमा कस्तो हुनेछ भन्ने स्पष्ट छैन।

टेलिग्राफका अनुसार टिक टकले सुरुवाती चरणमा १५ सेकेन्डको सीमा राखेको थियो तर पछि प्रयोगकर्तालाई १० मिनेटसम्मका भिडियो पोस्ट गर्न अनुमति दिएको थियो। नयाँ एपमा पनि प्रयोगकर्ताको पहिचान पुष्टि गर्ने सुविधा हुने बताइएको छ।

यदि प्रयोगकर्ताले यो सुविधा सक्षम गरेमा सोरा २ ले प्रयोगकर्ताको अनुहारलाई भिडियोमा प्रयोग गर्न सक्नेछ। यसले अन्य व्यक्तिहरूलाई प्रयोगकर्तालाई ट्याग गर्न र भिडियो रिमिक्स गर्दा उनको अनुहार प्रयोग गर्ने अनुमति दिनेछ। सुरक्षाका लागि, कसैले प्रयोगकर्ताको अनुहार प्रयोग गरेर भिडियो बनाए पनि पोस्ट नगरेको अवस्थामा समेत ओपनएआई ले प्रयोगकर्तालाई सूचना पठाउनेछ।

सफ्टवेयरले केही भिडियो बनाउन अस्वीकार गर्नेछ जसमा विशेष गरी प्रतिलिपि अधिकार (कपिराइट) को कारण मुख्य मानिएको छ। तर यी सुरक्षा उपाय कति प्रभावकारी हुने भन्ने स्पष्ट छैन। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ओपनएआईले अधिकारवालालाई आफ्ना सामग्री हटाउन आग्रह गर्नेछ।

वायर्डको भनाइ अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्सलाई टिक टकको अमेरिकी व्यवसायलाई अमेरिकी नियन्त्रणमा ल्याउन दिइएको म्याद पटक–पटक सारेर अवसर सिर्जना भएको देखिएकोले ओपनएआईले यस्तो सामाजिक एप ल्याएको हो।

सोरामा सामाजिक पक्ष थपेर ओपनएआईले आफ्नो मोडलमा प्रयोगकर्तालाई आकर्षित गर्ने र एकपटक एप तथा त्यस वरिपरि बनेको समुदायमा अड्काइराख्ने रणनीति बनाएको देखिन्छ।

 

प्रकाशित: १७ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया